Logo

कबड्डीले दुई हप्तामा ११ करोड कमायो



काठमाडौं, १८ असोज । एउटै चलचित्रबाट ११ करोड रुपैयाँ कमाई । त्यो पनि दुई हप्तामा । नेपाली चलचित्रमा पृथक कहानी र आफ्नोपन भए असम्भव रहेनछ । कबड्डी ३ ले यसलाई प्रमाणित गरेको छ ।

देशका अधिकांश हलहरुमा चलिरहेको कबड्डी कबड्डी कबड्डीले शुक्रबार ११ करोडभन्दा बढी कमाइसकेको जानकारी दिइएको छ । राजधानीमा मात्र ६ करोड कमाई गरेको वितरक कम्पनि स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले जानकारी दिए ।

दशैंको मुखमा प्रदर्शन शुरु गरिएको चलचित्रले दशैं र तिहारसम्म पनि एकछत्र राज गर्ने सम्भावना देखिइसकेको छ दशैंमा दर्शक झन् बढ्नेगर्छ । विशेषगरी मोफसलमा चलचित्र हेर्नेको संख्या बढ्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको कबड्डी ३ मा दयाङहाङ राईको बेजोड अभिनय छ । उनको कबड्डी र कबड्डी २ पनि सफल भएको थियो । फिल्मका निर्माता मनिराम पोखरेल, ओमचन्द्र रौनियार र अर्जुन कार्कीको यसपालीको दशैं सानदार हुने भएको छ । फिल्ममा विल्सन विक्रम राई, कर्मा शाक्य, उपासना सिंह ठकुरीलगायतको अभिनय छ ।

क्बड्डी ३ सफल भएपछि निर्माता र निर्देशकको टोली कबड्डी ४ मा सक्रिय भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्