Logo

सवारी साधनको जाँच तथा अनुगमन



रुपन्देही, १८ असोज (रासस) : प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाको समन्वयमा शुक्रबारदेखि सार्वजनिक सवारी साधनको जाँच र अनुगमन शुरु गरिएको समितिका संयोजक तथा मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले जानकारी दिए ।

चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मतसम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफू मातहतका साधन निरन्तर जाँच र मर्मतका लागि निर्देशन दिने संयोजक खरेलले बताए ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन समितिले यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको छ । समितिले तत्काल सेवाग्राहीले गुनासो राख्नका लागि प्रहरीको १०० नम्बर र नेपाल ट्राफिक प्रहरीको १०३ नं मा फोन गर्नसमेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्