Logo

धादिङमा फूलपाती भित्र्याइयो



धादिङ, १८ असोज  : विसं २०७० पछि बन्द भएको दशैँघरमा फूलपाती भित्र्याउने काम यस वर्ष भव्यरुपमा मनाइएको छ । जिल्लाको भैरवी मन्दिर र नीलकण्ठ मन्दिरमा रहेको दशैँ घरमा वैदिक विधिअनुसार पूजा गरेर फूलपाती भित्र्याएपछि बली दिइएको छ ।

बिहान ६ः०० बजेको साइतमा भैरवी मन्दिरमा प्रमुख जिल्ला अधिकारीले पूजा गरेर बलि दिइएको छ भने नीलकण्ठ मन्दिरमा समेत बलि दिइएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विशेष पूजापछि फूलपाती भित्र्याएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा सांसद भूमि त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाललगायतका उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । एकता र सद्भावको पर्वका रुपमा मनाइएको दशैँलाई भड्किलो नबनाउन सांसद त्रिपाठीले आग्रह गरे ।

गोरखाबाट ल्याइएको फूलपाती धादिङसम्म गोरखाका पुजारीले, जीवनपुरसम्म धादिङका कुमालले र जीवनपुरबाट काठमाडौँको हनुमानढोकासम्म हनुमानढोकाका पुजारीले फूलपाती लैजाने गरिन्छ । धेरै वर्षपछि फूलपाती भित्र्याएपछि प्रमुख जिल्ला अधिकारी तामाङले शान्तपूर्वक जनतालाई दशैँ मनाउन आग्रह गरे ।रासस



प्रतिक्रिया दिनुहोस्