Logo

प्रहरीद्धारा बडादशैंमा तीन दिन निःशुल्क बससेवा



काठमाडौं, १८ असोज । नेपाल प्रहरीले बडा दशैंको तीन दिन निःशुल्क बससेवा संचालन गर्ने भएको छ । प्रहरीका अनुसार अष्टमी, नवमी र दशमीका दिन सर्वसाधारणको हितलाई ध्यानमा राखेर निःशुल्क बस सेवा संचालनमा ल्याउन लागिएको हो ।

दुईवटा रुटमा संचालन हुने बस सेवा काठमाडौं उपत्यकाको ललितपुर र काठमाडौं जिल्लामा संचालनमा आउनेछन् ।
रुट नं १ नक्शालस्थित प्रहरी प्रधान कार्यालयबाट पुतलीसडक, माइतीघर, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क, दरबारमार्ग हुँदै नक्शाल पुगेर फर्कनेछ ।

रुट नं २ नक्शालबाट शुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्व, नागस्थान, लैनचौर, लाजिम्पाट, बालुवाटार हुँदै नक्शाल पुगी फर्कनेछ ।

प्रहरीले विगतका वर्षहरुमा पनि बस सेवा संचालनमा ल्याउने गरेको थियो । विगतमा बडादशैंको टीकाको दिनमात्र संचालनमा आउनेगरेकोमा यस वर्ष तीन दिन संचालनमा ल्याइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बस सेवा विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालनमा आउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्