Logo

तिब्बती भेडा च्याङ्ग्रा आउनै छाडे



मासुका लागि राम्रो मानिने तिब्बती भेडा च्याङ्ग्रा तीन वर्षदेखि यहाँ आउनै छाडेका छन् । चीनको तिब्बतबाट हरेक वर्ष दशैँका लागि आयात हुँदै आएका भेडा च्याङ्ग्रामा प्रतिबन्ध लागेपछि बजारमा आउनै छोडेका हुन् ।

विगतमा नेपालकै बाटो भएर भेडा च्याङ्ग्रा तिब्बतबाट खलङ्गा आउँथे भने केही वर्षदेखि नेपालको भूमि भएर आउन बाटोघाटो छैन । भारतीय बाटो भएर ल्याउन समस्या छ । भारत सरकारको मासु शुद्धता पत्र, अर्थात क्वारेन्टाइन पत्रका आधारमा मात्रै नेपालमा पशुचौपाया भित्र्याउन पाइन्छ । अहिले आएर भारत सरकारले नेपाल आयात हुने पशु चौपाया निर्यातमा कडाइ गरेपछि तिब्बतीयन भेडा च्याङ्ग्रा नेपाल आउनै छाडेको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख हरिशचन्द्र अवस्थीले जानकारी दिए ।

उनले भने , “तीन वर्ष भयो, कुनै व्यापारीले भेडा च्याङ्ग्रा ल्याएका छैनन्, भेडाबाख्रा ल्याउन कागजसमेत लगेका छैनन् ।” दशैं तिहारका लागि हरेक वर्ष सयौँको सङ्ख्यामा भेडा च्याङ्ग्रा तिब्बतबाट दार्चुलालगायत तराईसम्मै निर्यात हुँदै आएको थियो । उनका अनुसार अहिले कुनै पनि व्यापारीले तिंकर नाका भएर भेडा च्याङ्ग्रा ल्याउँदैनन् । अहिले बजारमा तिब्बतीयन भेडा च्याङग्राको माग भएपनि पाउन नसक्दा स्थानीयस्तरमै पानी खसी बोका र भेडाको व्यापार हुने गरेको छ ।

नेपालतिर बाटो भइदिएको भए तिब्बतबाट सिधै सदरमुकाम खलङ्गासम्म भेडा च्याङ्ग्रा ल्याउन सकिने थियो । विगतमा दार्चुलाकै व्यापारी कारोवार गर्दथे । अहिले नेपालतिरको बाटो अधिकांश ठाउँमा अवरुद्ध छ । बाटो मर्मतसम्भारसम्म हुन सकेको छैन । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार व्यासको छांगरु र तिंकरका स्थानीयले घरायसी प्रयोजनका लागि मात्रै भेडा च्याङ्ग्रा ल्याउने गरेका छन् ।

पछिल्लो समय तिब्बतबाट आउने भेडा च्याङ्ग्रा ल्याउनै कठिन भएको उहाँले बताउनुभयो । यहाँसम्म भेडा च्याङ्ग्रा पुर्याउन व्यापारी बाटोको कारण झण्झटिलो मान्ने गर्छन् । उनका अनुसार अहिलेसम्म कुनै व्यापारी व्यासको छांगरु तिंकर भएर भेडा च्याङ्ग्रा ल्याउने भेटिएका छैनन् । छांगरुका बासिन्दा जीतसिंह बोहराले व्यासबाट खलङ्गासम्म ल्याउन नेपालतिर बाटो नहुँदा व्यापारीले दुई तीन वर्षदेखि भेडा च्याङ्ग्रा खोज्न आएका बताए ।

दशैँमा तिब्बतीयन भेडा च्याङ्ग्राको सट्टा बजारमा अहिले खसी बोका, भेडा आउन थालेका छन् । जिल्लाको नौगाड, मार्मालगायतका क्षेत्रबाट बजारमा अहिले खसी बोका, भेडा भित्रिएका व्यापारी बताउँछन् । “तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन सकिँदैन”, व्यापारी प्रकाश पालले भन्नुभयो, “अहिले नौगाड, दुहु , महाकाली नगरपालिकामा पाइने खसी बोका, भेडा ल्याएर बिक्री गरिरहेको छु, स्थानीयस्तरमा पाइने खसीबोका, भेडा पनि जिल्ला बाहिर निकासी भएको छ । जिल्लामा थोरैको सङ्ख्यामा खपत हुन्छ ।”

महाकाली नगरपालिकाअन्तर्गतको पशुसेवा कार्यालयका अनुसार तराई हुँदै पोखरासम्म यहाँका खसी तथा भेडाबाख्रा ढुवानी भएका हुन् । व्यास क्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा तराई ढुवानी भएको पशु शाखाका पशु प्राविधिक रघुवीरसिंह ठगुन्नाले बताए । जिल्ला बाहिर भेडाबाख्राको माग बढी भएका कारण व्यापारीले तराई ढुवानी गर्ने गरेका छन् ।

हरेक वर्ष जिल्लाबाट दुई तीन हजारको सङ्ख्यामा खसीबाख्रा तथा भेडा तराई ढुवानी हुने गरेका छन् । विगतमा तिब्बतबाट भेडा च्याङ्ग्रा आउने गरेकामा पछिल्लो समय आउन छोडेको छ । च्याङ्ग्रा आउन छोडेपछि अहिले भेडाबाख्रा खसी ढुवानी हुने गरेको हो । अहिले व्यापारीले जिल्लामै रु १० देखि रु २० हजारसम्ममा खरीद बिक्री हुने भेडाबाख्रा तराई जाँदा महँगोमा बिक्री गर्न मिल्ने व्यवसायी लोकेन्द्र बोहराले बताए ।



प्रतिक्रिया दिनुहोस्