Logo

महरा प्रकरण अर्को मोडमा, अब को जेल जाला



रिपोर्टर्स नेपाल, १८ असोज । महरा प्रकरण ! यो नेपाली राजनीतिमा महिलासँग जोडिएर कुनै उच्च पदस्थ व्यक्तिको पद गएको पहिलो घटना होइन । फरक यति हो महरा यस्तो युगका सार्वजनिक पद धारण गरेको व्यक्ति परे जुन युगमा सामाजिक सञ्जालको प्रभावले मानिसको धारणा प्रभावित हुन्छ । यतिसम्मकी जनमत नै सामाजिक सञ्जालले बन्ने अवस्था बनिसकेको छ ।

महरा र रोशनीबीचको सम्बन्ध देखि उनीमाथि लागेको जर्बजस्तीको घटनालगायत यावत् पक्षको अनुसन्धानको दायित्व नेपाल प्रहरीको हो । त्यसपछि कानुनी उपचारको निकाय अदालत हो । त्यसभन्दा पनि संवेदनशील विषय जनमानसको धारणा हो जुन महराप्रति नकारात्मक बनिसकेको छ र रोशनी शाही पनि विवादको घेराबाट मुक्त छैनन् । उनी कहिले महरालाई आरोप लगाउँछिन् त कहिले समर्थनमा जान्छिन् फेरि उनीविरुद्ध किटानी जाहेरी दिन्छिन् । यसले घटनालाई निकै गिजोलिसकेको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरण जति जति नयाँ मोड लिदैछ त्यति त्यति रहस्यमय बन्दैछ । एकपछि अर्को मोड लिदै गर्दा रहस्यका पर्दाहरु बन्द हुँदै गएका छन् । यसबारे अनेकन शंका आशंका उब्जिएका छन् ।

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् । तर, १४ असोजमा उनको भनाई बदलिदै गएको देखिन्छ । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।
१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धानका लागि महरा पक्राउ पर्ने सम्भावना बढेर गएको छ । रोशनी शाहीले भनाई बदलिइरहेबाट उनको कुन भनाई सही हो भन्ने अनुसन्धानबाट पत्ता लाग्ला । यदि उनले झुटो बोलेको हो भने जेल जानुपर्ने अवस्था आउँछ । सही बोलेको हो भने महरा जेल जानुपर्ने हुन्छ । अब कोही न कोही जेल जानुको विकल्प छैन ।

(रोशनी शाहीले आफै खुलेर बोलिसकेकाले तस्बिर राखिएको हो । यो तस्बिर जोडेर बनाइएको हो ।)



प्रतिक्रिया दिनुहोस्