Logo

पूर्व राजाले दिए ‘हिन्दु राष्ट्र’ र ‘राजसंस्था’ फर्काउने चुनौती



काठमाडौं, १८ असोज । बडादशैंको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामनासहित सन्देश आएको छ । उनले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने आशयका साथ सन्देश दिएका छन् ।

उनले सनातनिक पथतर्फ अभिप्रेरित हुन नवदुर्गा भवानीसँग कामना समेत गरेका छन् । सनातन धर्म र संस्था सत्य पथ हो भन्दै त्यसप्रति अििभप्रेरित हुन गरेका कामना अर्थपूर्ण छ । नेपाल र नेपालीको आफ्नो मौलिकपन भन्दै उनले धर्मतर्फ संकेत गरेको देखिन्छ ।

पूर्खाको गाथा, पौरख र सुसंकृत सभ्यतालाई भुलेर जान खोजेको भन्दै असन्तुष्टि देखाएका छन् । उनले सन्देशमा राजनीतिक दलहरुतर्फ संकेत गर्दै भनेका छन्, ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’

देशमा भिडन्तको अवस्था समेत औल्याएका छन् । विद्रोहको आगो भुस झै भित्र भित्रै सल्केको समेत उनको ठम्याई छ । राष्ट्रियता धर्मराएको भन्दै दलहरुको व्यवहारतर्फ संकेत गरेका छन् ।

देशमा आसुरी र स्वार्थी व्यवहार बढेको उनको ठम्याई छ । त्यसलाई विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् भनी कामना समेत गरेका छन् ।

‘राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन,’ पूर्व राजाले सन्देशमा भनेका छन् । उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । देशमा पछिल्लो समय बढेको प्रतिकार र निषेधको राजनीतितर्फ उनको स्पष्ट संकेत देखिन्छ । File Photo



प्रतिक्रिया दिनुहोस्