Logo

स्थानीय कलेजमा विद्यार्थीको मोह



भोजपुर, १९ असोज :  गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो । आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको छ । उच्च शिक्षाका लागि धनकुटा, खाँदबारी, धरान, इटहरी, विराटनगर, काठमाडौँ जस्ता शहरमा पढाउन खर्च धान्न नसक्ने न्यून आयस्रोतका सर्वसाधारणका लागि चुनौतीको विषय थियो ।

आफ्नै ठाउँमा चाहेजस्तो उच्च शिक्षा लिन पाउँदा विद्यार्थीलाई सहज भएको छ भने अभिभावकले खुशीको महसुस गरेका छन् । कुलुङ बहुमुखी क्याम्पस दिङ्लाकी छात्रा रितु राईले भने , ‘‘ उच्च शिक्षा लिनको लागि शहरका महँगा क्याम्पसमा जानुपर्ने बाध्यता थियो, दा, दिइदीहरुले त त्यतै गएर पढ्नुभयो तर अहिले आफ्नै ठाउँको कलेजमा चाहेको विषय पढ्न पाउँदा निकै खुशी छु । आफ्नै घरमा बनेको खानेकुरा खाएर उच्च शिक्षा लिन पाउँदा हामीलाई निकै सहजता थपिएको छ ।”
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने भोजपुर बहुमुखी क्याम्पस, षडानन्द बहुमुखी क्याम्पस र कुलुङ बहुमुखी क्याम्पस गरी जिल्लाभर तीन आङ्गिक क्याम्पस सञ्चालनमा छन् । घरपायकमै उच्च शिक्षा पाउँदा समय र पैसाको बचत हुने गरेको उनीहरु बताउँछन् ।

सहज, सरल, स्पष्ट रुपमा सङ्कायगत विषयमा पठनपाठन हुने यहाँका क्याम्पसमा ग्रामीण विद्यार्थीलाई बस्नका लागि व्यवस्थित छात्रावास, सहज कक्षाकोठा, सुलभ इमेल–इन्टरनेटसहितका पुस्तकालय, पाठ्यपुस्तक र छात्रवृत्तिको व्यवस्थाले झनै आकर्षित गरेको छ । दक्ष प्राध्यापकबाट सहजीकरण र अध्यापन गरिने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो ।कुलुङ क्याम्पसमा प्राध्यापनरत अशोककुमार यादवले भने , ‘‘क्याम्पस स्थापना भएसंँगै विद्यार्थीहरुको शहरका क्याम्पसमा जाने मोह हटेको छ, विद्यार्थीले गाउँकै क्याम्पसमा राम्रो शिक्षा लिन पाएका छन् । ’’

आर्थिक रुपले बाहिर गएर पढ्न नसक्ने विद्यार्थी बढीभन्दा बढी लाभान्वित हुने गरेका छन् । शैक्षिक गुणस्तरको हिसाबले जिल्लाभित्र अध्ययन गर्ने विद्यार्थी बाह्य क्याम्पसको तुलनामा अब्बल देखिएको प्राध्यापकको बुझाइ छ । पढाइसँगै सीपमूलक कार्यमा संलग्न हुने विद्यार्थी तुलनात्मक हिसाबले अब्बल रहेको उनीहरु बताउँछन् । भोजपुर क्याम्पसका प्रमुख डा रोहितकुमार श्रेष्ठले भन्नुभयो, ‘‘सहज शिक्षाको लागि क्याम्पस प्रशासनले इ–लाईवेरी, छात्रावास र दक्ष प्रध्यापकहरुको व्यवस्था गरेपछि शिक्षाको गुणस्तरमा सुधार आएको छ, भने विद्यार्थीको मोह पनि स्थानीय क्याम्पसमा बढेको छ ।’’



प्रतिक्रिया दिनुहोस्