Logo

रोशनीले बनाइन कृष्णको जीवन अन्धकार



काठमाडौं, १९ असोज । नाम रोशनी, जसको अर्थ हुन्छ उज्यालो । तर, रोशनी शाहीले कृष्णबहादुर महराको जीवनमा अन्धकार ल्याइदिइन् । अब उनी उठ्नै नसक्ने गरी पछारिएका छन् जसको कारण हो रोशनीसँगको सम्बन्ध ।

रोशनीसँग महराको लामो सम्बन्ध रहेको खुलिसकेको छ । दुई दशकभन्दा लामो सम्बन्धमा १२ असोजको साँझ आँधीबेहरी बनेर आयो । उनीमाथि रोशनीले बलात्कार जस्तो जघन्य अपराधको आरोप लगाइन् । उनले प्रहरीको हटलाइनमा फोन गरेर डाकिन् र भोलिपल्ट मिडियालाई अन्तवार्ता दिइन् ।

आरोपमा अडिग रहेकी रोशनी १४ असोजमा परिवर्तन भइन् । महरामाथि आवेगमा आरोप लगाएको भन्दै अर्को अन्तवार्ता दिइन् । त्यतिञ्जेलसम्म महराले सभामुख पदबाट राजीनामा दिइसकेका थिए ।

घटनाले एकपछि अर्को नयाँ मोड लिने क्रममा रोशनी शाहीले १७ असोजमा किटानी जाहेरी दिइन् । महराविरुद्धको जाहेरीका कारण राजनीतिकवृत्तमा समेत तरंग आयो । १९ असोजको साँझ महरा पक्राउ परे । उनी प्रहरी नियन्त्रणमा पर्दा सम्म राजनीतिक जीवनमाथि संकटको बादलले घेरिसकेको थियो ।

रोशनीले महरालाई उचाईबाट एकैपटक फेदमा झारिदिइन् । यतिसम्मकी आरोप पुष्टि भए उनी जेल जानुपर्ने अवस्था हुनसक्छ ।
कुनैपनि पुरुषको सफलतामा महिलाको मुख्य भूमिका हुन्छ । महिलाको साथ र मायाले पुरुषले सफलता पाएका धेरै उदाहरणहरु छन् । तर, महिलाका कारण एकै मिनेटमा करिअर नै समाप्त भएकाहरु पनि छन् ।

नेपालको राजनीतिक इतिहासमा महिलाका कारण धेरै घटना घटेका छन् । दरबार हत्याकाण्ड पनि महिलाकै कारण भएको रिपोर्ट तयार भयो । यद्यपि यसमा शंका नै छ । तत्कालिन युवराज दीपेन्द्र शाहले देवयानी राणासँग प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न नपाएको झोकमा अन्धाधुन्दा गोली चलाएर परिवारका सदस्यको हत्या गरेको उल्लेख छ ।

पछिल्लो समय निवर्तमान सभामुख कृष्णबहादुर महरा महिलासँग जोडिए । उनीमाथि जर्बजस्तीको गम्भीर आरोप लाग्यो । संसदकी कर्मचारीको कोठामा गएर जर्बजस्ती गरेको विषय सार्वजनिक भएपछि उनी राजीनामा दिन वाध्य भए । यद्यपि आरोप लगाउने रोशनी शाहीले महरा निर्दोष रहेको र रिसको झोकमा आरोप लगाएको भन्दै बयान फेरेकी छिन् । तर, महराले राजीनामा दिएपछि सभामुख चयनको नयाँ प्रक्रिया शुरु हुने देखिएको छ ।

महराको लामो राजनीतिक करिअर महिलाको जर्बजस्तीको आरोपले डामाडोल पारेको छ । यसले उनको परिवार समेत तनावमा परेको छ । महराका छोराहरुले सैन्य पोशाक लगाएर चुनौतीयुक्त फेसबुक पोष्ट गरेका छन् ।

माओवादी छाडेर तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका रवीन्द्र श्रेष्ठ पनि महिलाको मामलामा मुछिएर राजनीतिक करिअर बिगारे । लेखन क्षेत्रमा सक्रिय श्रेष्ठ बहुविवाह गरी भूमिगत भए । सामान्य प्रशासनमन्त्री समेत भइसकेका उनको राजनीतिक करिअर बहुविवाहका कारण डामाडोल भयो ।

माओवादीको जनयुद्धमा पनि महिलासँग जोडिएका कतिपय नेताहरुको राजनीतिक करिअर नै बिग्रियो । माओवादीभित्र यो विषयलाई अनुशासनको दायरामा ल्याएर कडा कारबाही गरिएको घटनाहरु छन् ।

महिलाका कारण राजनीतिक करिअर बिग्रेकाहरुले आफूसँग जोडिएका महिलालाई दोष दिए या नदिएपनि मुख्य दोषी स्वयं उनीहरु नै हुन् । पदीय मर्यादा र अनुशासन कायम नराख्दा क्षणभरमै उनीहरुको करिअर ध्वस्त भयो ।



प्रतिक्रिया दिनुहोस्