Logo

अष्टमीको साँझ महरा पक्राउ परेपछि…



काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले जनयुद्धकालमा कुनैपनि बेला मारिने या पक्राउ पर्ने सोचेका थिए होलान् । जोखिमयुक्त जनयुद्धपछि राजनीतिक मूलधारमा आएपछि राजनीतिमा आरोह अवरोह स्वाभाविक नै हो । तर, आफू सभामुख हुँदा सचिवालयकी कर्मचारीमाथि जर्बजस्तीको अभियोगमा पक्राउ परिन्छ भन्ने सपनामा पनि चिताएका थिएनन् होला । त्यो पनि बडा दशैंको अष्टमीको साँझ ।

शक्तिपीठहरुको पूजा गर्ने दिन महरा निरिह बने । उनी सभामुखको सरकारी निवासबाट पक्राउ पर्दा उनको सुरक्षामा खटिएका प्रहरीहरु हेरेको हेरै भए ।

महरालाई पक्राउ गर्न नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले निकै छलफल गरेका थिए । यो प्रकरणले पार्टी र सरकार समेत बदनाम हुने अवस्था देखिएपछि उनीहरु कठोर कदम चाल्न वाध्य भए ।

गृहमन्त्री बादलले प्रहरीले बुझाएको रिपोर्ट पार्टी अध्यक्षहरुसमक्ष जानकारी गराएका थिए । सर्वत्र दबाब बढेपछि महरा पक्राउको निर्णय लिन सरकार वाध्य भयो ।

अष्टमीको साँझ महरा पक्राउ परेपछि सबैभन्दा ठूलो पीडा महरा परिवारमा परेको छ । उनका दुई छोरा पनि जनयुद्ध लडेर आएका हुन् । यो घटनाले उनीहरुको राजनीतिमा समेत धक्का पुगेको छ ।

महरा परिवारका लागि यो दशैं दशा बनेको छ । दशैको मुखमा महराको सभामुख पद गएको छ । उनको दशैं हिरासतमा हुनेछ ।

नेपालको इतिहासमा महिलामाथिको जर्बजस्तीको अभियोगमा हिरासतमा पुग्ने हाइप्रोफाइल बनेका छन् महरा । यो घटनाको अनुसन्धान बाँकी नै रहेको र अदालती प्रक्रिया बाँकी नै रहेकाले के होला निक्र्यौल गरिहाल्न सकिने अवस्था छैन । Photo Credit: Prime TV



प्रतिक्रिया दिनुहोस्

Screenshot