Logo

दशैंमा धेरै मासु खाँदा हुने बेफाइदा



काठमाण्डौ । दशैंमा मान्यजनको हातबाट टीका–जमरासहित आर्शिवाद थाप्ने र मीठो–मसिनो खाने चलन छ । दशैंमा आफ्नो गच्छे बिर्सेर ऋणै काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ ।

दशैंमा विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । त्यसक्रममा हुन जाने सानो सानो लापरवाहीले गर्दा दशैंको रमझममा बिमारी भएर अस्पताल धाउनुपर्ने अवस्थासमेत निम्तिने गरेको छ । त्यसकारण, मासुको सावधानीपूर्ण र सन्तुलित प्रयोग आवश्यक छ ।

मासुमा सबभन्दा धेरै १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनका लागि मासु अनिवार्य नै मानिन्छ । तर, सही प्रयोग नगरेको खण्डमा यसबाट प्राप्त हुने तत्वहरू पाउन सकिँदैन ।

राम्ररी, सुरक्षित ढंगले राख्न जानिएन भने मासुमा सुरुमै अनेक रोग उत्पन्न गराउने जिवाणुहरु उत्पन्न हुन्छन् । सुरक्षित ढंगले राखिएको मासु पनि विभिन्न शारीरिक अवस्था वा उमेरकाहरुले कस्तो, कसरी, कसरी खाने भन्ने कुरा अहम् हुन्छ ।

अमेरिका र युरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूले गरेका अध्ययन अनुसन्धानले दैनिक धेरै मात्रामा रातो मासु खानाले मुटुमा असर पर्नुका साथै उच्च रक्तचाप निम्तिने निष्कर्ष दिएका छन् । ती अनुसन्धानहरुका अनुसार दैनिक धेरै मासु खाँदा हाडजोर्नीसम्बन्धी आर्थाइटिस रोगको सम्भावना अधीक हुन्छ । अत्यधिक मासु उपभोगबाट महिला पुरुष सबैमा कोलस्ट्रोलको मात्रा बढ्ने अनुसन्धानहरुले देखाएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यानसमेत जान सक्छ । दशैंजस्तो ठूला चाडबाडका बेला अस्पतालहरुमा बिरामी संख्या बढ्नुले पनि यही देखाउँछ ।

काठमाडौंको वीर, टिचिङ र पाटन अस्पतालको तथ्यांकले चाडबाडको समयमा धेरैलाई ‘फुड प्वाइजन’ हुने गरेको देखाउँछ । मासु र अन्य परिकारलाई स्वस्थकर ढंगले नराख्दा विषाक्तपन बढ्न पुग्छ । विषाक्त परिकार खाएको केहीबेरमै पेट बटारिने, ढुस्सिने, पखाला चल्ने, अजीर्ण वा अपच भएर पेट फुल्ने लगायतका लक्षण देखिन थाल्छन् ।

यस्तो भएमा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा गइहाल्नु पर्छ । यस्तो स्वास्थ समस्या व्यक्तिगत सरसफाईका साथै पकाएका वा नपकाएका खाने कुरा राख्दा हुने लापरबाहीसँग सम्बन्धित छ । दशैंका लागि खसी बोका किन्दा नै केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ ।

हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएको, फनफनी घुमिरहने खसीबोका किन्नै हुँदैन । ३ सय ६५ दिनमा ३ सय ६० दिन एकैकिसिमका खानेकुरा खाने नेपाली परम्परा नै हो । त्यसैले चाडबाडमा त हो भनेर पेटले मागिन्जेल खाने नेपालीको बानी पुरानै हो । तर, त्यसरी खाँदा रोगको सिकार भइन्छ भनेर ध्यान दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्