Logo

यसरी पक्राउ परेका थिए महरा



काठमाडौं, १९ असार । सभामुखको सरकारी निवासमा प्रहरीको सक्रियता ह्वात्तै बढेको थियो । अपरान्ह प्रहरी पुगेर निवासमा कृष्णबहादुर महरालाई पक्राउ पूर्जी दियो ।

प्रहरी स्रोतका अनुसार महरा परिवारका सदस्यका साथ थिए । डिएसपी दुर्गा रेग्मीले पक्राउ पूर्जीबारे जानकारी गराए । महराले त्यसको जानकारी पाइसकेका थिए । उनले केही समय लिए ।

उनले पोशाक फेरे । बाहिर निस्कदा प्रायः लगाउने गरेको टोपी र चश्मामा थिए । निकै चिन्तित मुद्रामा थिए महरा ।
प्रहरीले आफ्नो गाडीमा लान खोज्दा महराले निजी कारमा जान आग्रह गरे । उनी पछाडि बसे । अगाडि र पछाडि सादा पोशाकका प्रहरी बसे । कारको पछाडि प्रहरीको गाडी थियो ।

रातो कारमा निस्केका महराको तस्बिर खिच्न पत्रकारहरु निकै सक्रिय थिए । एक हप्ता गुप्तवास जस्तै भएका महरा देखापरेका थिए । उनमा विगतमा जस्तो दम थिएन ।

कारको पछाडि सिटमा बसेका महरा निरास थिए । उनीमाथि कुनै राजनीतिक मुद्या थिएन । न त राजनीतिक प्रतिशोधको कदम थियो । आफ्नै दल दुई तिहाईसहित सत्तामा रहँदा बचाउन नसकिएको विषयले महरालाई हिरासतमा पुर्याउँदै थियो । उनीमाथि आफूसँग लामो समय नजिक रहेकी रोशनी शाहीले जर्बजस्तीको प्रयासको अभियोग लगाएकी थिइन् ।

जुन महरा विगतमा संसदीय अनुभव संगालिसकेको अवस्थामा जनयुद्धमा लागेर जोखिम मोलेका थिए त्यही महरा आइतबार सभामुखको सरकारी निवासबाट निस्कँदा निराश थिए । निवर्तमान सभामुखका रुपमा उनी डेरा खोज्दै गर्दा निवासबाट पक्राउ परे ।



प्रतिक्रिया दिनुहोस्