Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि नेपाल र भारत दुवैतर्फ तयारी, पहिले कहाँ पुग्लान्



काठमाडौं, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने निश्चितप्रायः भइसकेको छ । उनको भ्रमणको तयारीमा सरकार लागिरहेको छ । दशैंको बिदा नभनी परराष्ट्र मन्त्रालयका कर्मचारी देखि सुरक्षाकर्मीहरु सक्रिय छन् । तर, अझै मिति तय भइसकेको छैन ।
सी जिनपिङले भारत भ्रमण गर्दैछन् । उनी पहिले भारत पुगेर नेपाल आउनेछन् या नेपालबाट भारत पुग्नेछन् निश्चित भइसकेको छैन । भारत भ्रमणको पनि मिति तय भएको छैन । भ्रमणको मिति तोकिन अझै दुई दिन लाग्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चेन्नाईको मल्लापुरममा यसै हप्ताको शुक्रबार या शनिबार भेट हुने आशा गरिएको छ । भेटको मितिबारे आशा गरिएपनि अझैपनि जिनपिङको भारत भ्रमणको मिति तोकिएको छैन । दुवै पक्षबीच कुटनीतिक तहमा सक्रियताका साथ तयारी भइरहेको छ तर भ्रमणको मिति गोप्य राखिएको छ ।

भारत आउनुअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बेइजिङमा डाकेको पीटीआईले उल्लेख गरेको छ । उनी मंगलबार बेइजिङ पुगी जिनपिङलाई भेट्ने सम्भावना बताइएको छ ।

भारत र चीनका कार्यकारी प्रमुखहरुबीच पटक पटक इन्फरमल मिटिङ हुँदै आएको छ । सन् २०१८ मा चीनमा यस्तै भेट भएकोमा यसपटक भारतमा हुन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्