Logo

जापानमा नवरात्रको दुर्गा पूजा सम्पन्न, नेपाली संस्कृतिको चर्चा



जापान । जापानको कोचि शहर स्थित वाकामाचु भन्ने ठाउँमा अवस्थित मोञ्जु साई मन्दिरमा नवरात्र विशेष पूजा सम्पन्न भएको छ ।

जापनिज धर्मगुरु मोञ्जु सत्यले नवरात्रको बेलामा श्रीमद्भागवत् महापुराण विश्वशान्ति विश्वकल्याण ज्ञान महायज्ञ आयोजना गरेता पनि यो समय दुर्गाको विशेष समय भएकाले नौ दिन सम्म नै चण्डी पाठ गराउने र दशमीको दिनमा समुद्रमा गएर दुर्गा पूजाको विसर्जन गर्ने जानकारी दिए ।

जापानमा जन्मिएता पनि कुनै जन्ममा आफुले वैदिक संस्कार प्राप्त गरेको र यो जन्ममा पनि त्यसैको प्रेरणाले यस्ता सत्कर्ममा मन गैरहने हुनाले यो यज्ञ लगाएको मोञ्जले बताए । नेपाल वेदका संकलक वेदव्यासको भूमि भएकाले नेपालबाट नै ब्राह्मणहरु बोलाएर सो महायज्ञ गराएको र नेपाल हिन्दु संस्कृति मान्ने हर कसैका लागि नेपाल नै प्रमुख गन्तव्य भएको ब्यहोरा उनको भनाई थियो ।

अक्टोबर ४ देखि १४ सम्म सो महायज्ञ चल्ने छ । त्यसका लागि नेपाल टेलिभिजनका धार्मिक कार्यक्रम प्रस्तोता चन्द्रकान्त पौडेल धर्मसंस्कृतिविद् गोविन्द प्रसाद पौड्याल, वास्तुविद् शिव पोखरेल, पंडितहरु हरिकृष्ण प्याकुरेल, भीम निरौला, रामेश्वर तिमल्सिना, हरिहर वाग्ले र सुरज राउत लगायतलाई नेपालबाट जापान बोलाएको हो ।

विदेशमा नेपालीहरु केवल श्रमिकका रूपमा अधिकांश गएका छन् । तर संस्कृत पढ्ने हो भने विदेशमा नेपालिहरु श्रमिक भएर होइन ससम्मान गुरु, पंडित, मार्गदर्शक, संस्कृत प्रशिक्षक, योगा प्रशिक्षक, ज्योतिषी आयुर्वेकि वैद्यका रूपमा नेपाली जनशक्ति प्रयोग हुन सक्ने व्यवस्थापक नवीन डंगोलले बताए ।

नेपालका हरेक विद्यालयहरुमा संस्कृत शिक्षालाई अनिवार्य गराउनुपर्ने युवा गुरु चन्द्रकान्त पौडेलको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्