Logo

गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीको आग्रह



काठमाडौ २१ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् ।

बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस्’ भन्ने कामना पनि गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशको पूर्णपाठ 

‘दिदीबहिनी तथा दाजुभाइहरु,

हामी नेपालीहरुको महान र परम्परागत चाड बडादसैंका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देशबाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गर्दछु ।

दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरुका बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै  हार्दिकता र मित्रताका साथ मनाइने चाड हो ।

यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔं ।  भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।

यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने,  सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौं । परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस् ।

यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

चाडहरु बढी खर्चालु नहून् । हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔं । यसमा पनि ध्यान दिन जरुरी छ ।

आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौं । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजकारुपमा विकास पनि गर्नु छ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ ।

हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रि«य आकांक्षा पूरा गर्ने अभियानमा छौं । यस अभियानमा यो दसैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् । म यस बडादसैंका अवसरमा शुभकामना व्यक्त गर्दछु । धेरै–धेरै शुभकामना ।’ रासस



प्रतिक्रिया दिनुहोस्