Logo

कैदी र अनाथ बालबालिकाले मनाए दशैँ



वीरगंज, ललितपुर । वीरगञ्ज कारागारका कैदीले पनि आज एकआपसमा टीका तथा जमरा लगाई विजयादशमी मनाए । विभिन्न मुद्धामा कारागारमा थुनामा रहेका १ हजार ३ सय १३ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउनुका साथै तीन सय भन्दा बढी कैदीका आफन्तबाट टीका ग्रहण गरेका हुन् ।

पर्सा जिल्ला वीरगञ्ज कारागारमा १३१३ कैदि रहेका छन् । जसमा १ हजार दुई सय ३ पुरुष, १ सय महिला र १० जना बालबालिका रहेका छन् । जानेर वा अन्जानमा गरिएको अपराधको सजाय काटिरहेका कैदीहरुका आफन्तले कारागारमै पुगी टिका लगाएका हुन् ।

त्यसैगरी भक्तपुरका अनाथ बालबालिकाले दशैंका टिका ग्रहण गरेका छन् । चाँगुनारायण नगरपालिका २ मा रहेको दुहुरा बालबालिका उद्धार केन्द्रमा रहेका २६ जना अनाथ बालबालिकाले दशैंको टिका ग्रहण गरेका हुन ।

उनीहरुलाई चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले दशैंको टिका लगाइदिनुभएको हो । केन्द्रमा रहेका अनाथ बालबालिकाले अभिभावकको अभाव महशुस गर्न नपरोस् भन्ने उद्देश्यले आफुले अनाथ बालबालिकालाई टिका लगाइदिएको नगर प्रमुख मिश्रले बताए ।



प्रतिक्रिया दिनुहोस्