Logo

अमेरिका नेकपासँग रिसाएको छ नि भनेर सोध्दा माधव नेपालले जंगिएर भने- कसैको दबाबमा नेपाल जाँदैन



काठमाडौं, २१ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो राजनीतिक अनुभव छ । उपप्रधानमन्त्री हुँदै देशको प्रधानमन्त्री समेत बनिसकेका उनी नेकपा विदेश विभाग प्रमुख हुन् । उनीसँग प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलाले जनता जान्न चाहन्छन् कार्यक्रममा गरेको कुराकानीः

नेपाललाई चीनले रेल दिने भयो होइन ?

रेल दिने, के दिने भनेर नचाहिने कुरा गर्नुहुँदैन ।

बाहिर त्यही तिनै कुराको चर्चा भइरहेको छ नि ?

चीन भनेको धनी देश हो । अरु पनि धनी देशहरु छन् । ती धनी देशहरुले कुनै न कुनै रुपले सहयोग गरेका हुन्छन्, गरेको पनि छ । ती देशहरुबाट भ्रमण हुँदा केही सहयोगका सम्झौताहरुमा सही पनि हुन्छन् । ती देशहरुले खासगरी कनेक्टिभिटीमा बढी जोड दिएका हुन्छन् ।

हाम्रो देशले चीनले ऋणमा दिएको रेल थेग्न सक्छ ?

चीनले ऋणमा दिएको रेल थेग्न सक्छ वा सक्दैन त्यसबारेमा पक्कै पनि छलफल हुन्छ । नेपालले त्यसबाट हुने व्यापारिक, आर्थिक, टुरिजम लाभको पक्षेलाई हेरेर जाने हो । त्यसको लागि वैकल्पिक मार्ग चाहिन्छ । एकपक्ष मात्रै भएर हुँदैन । पहिला हामीले पटक–पटक हण्डर नखाएको होइन । त्यसमा विकल्प भयो भने नेपालले त्यस्ता खाले चुनौतीको सजिलै सामना गर्न सक्छ । नेपाली जनताले सामना गरेका पनि हुन् । पानी नखाएर पनि कालापानीको युद्धमा लड्न सक्ने नेपाली जनताहरु हुन् । डिजल नपाउँदा पनि पैदलदेखि साइकिलको भरमा हिड्ने आँट गरेका हुन् । यस्ता त्यागले गर्दा नेपाली जनतामा प्रगाड रुपले देश भक्ति जागेको छ । यस्ता घटनाले छिमेकी मुलुकमा कता–कता तीतोपन ल्याइदियो । त्यसले नेपाली जनमानसमा निकै ठूलो आघात पु¥याउने काम भयो ।

नेपाल कम्युनिस्ट पार्टीको नीति चीनमुखी हुन थालेको हो ?

नेपालको नीति कहिल्यै पनि चीनमुखी पनि हुँदैन, भारतमुखी पनि हुँदैन । दुवै देशसँग हाम्रो सुमधुर सम्बन्ध हुनुपर्छ । त्यस कुरामा हामीले विश्वास गर्नुपर्छ । आर्थिक र व्यापारिक कुरा जुन छ, जहाँ लाभ हुन्छ त्यहाँ सम्बन्ध रहन्छ । जहासम्म नेपाललाई सहयोग गर्ने कुरा छ । त्यसमा कुनै पनि शक्ति बन्दी हुने कुरा नेपाललाई स्वीकार्य हुँदैन । अनुचित शर्त बन्दीलाई नेपालले स्वीकार गर्दैन ।

चीनबाट ऋणमा रेल ल्याउने पक्षमा नेकपा छैन हो ?

तपाईं कस्तो कुरा गर्नुहुन्छ । ऋणमा ल्याउने, डोनेसनमा ल्याउने । तपाईंहरुले राज्य सञ्चालनको कुरै बुझ्नुभएको छैन । राज्य सञ्चालन गर्दा कतिपय ऋण हुन्छ, कतिपय अनुदान हुन्छ । अहिले ऋण हुन्छ, भोलि गएर अनुदानमा रुपान्तरण हुन्छ । यो चलिरहने प्रक्रिया हो । यसबाट एकदमै बर्बाद भयो भनेर अत्तालिनुपर्ने आवश्यकता छैन । यसको विरोध गर्नुभनेको चीनबाट नेपालले लाभ लिन चाहेको छैन ।

नेपालमा चीनको हस्तक्षेप बढेको छ नि ?

केमा हस्तक्षेप भएको छ ?

नेकपाले त नेपालमा सी विचारधारा लागू गर्ने भनेको छ नि ?

त्यो सी जीन पिङले चीनको लागि ल्याएको सी विचारधारा हो । नेपालमा नेपाल कम्युनिस्ट पार्टीले बनाएको आफ्नै विचारधाराहरु छन् । त्यसैले नेपालको पार्टीको आफ्नै सिद्धान्त छ, चीनको पार्टीको आफ्नै सिद्धान्त हुन्छ । तर, मूल पक्ष भने माक्सवाद, लेनिनवादमा चीनको पार्टी र हाम्रो पार्टीको एउटै धारणा छ । सिद्धान्तमा, नैतिकतामा, विकास निर्माणमा, कार्यकर्तालाई सुपठित, सुयोग्य, सिद्धान्तनिष्ठ बनाउनुपर्छ भन्नेमा, जिम्मेवारी पूरा गर्न योग्य बनाउनुपर्छ भन्ने कुरामा दुवै देशका पार्टीको विश्वास छ । सिद्धान्तर विचार मिलेपछि पारिस्परिक सहमति हुन्छ ।

तर, भाइचारको सम्बन्धमा जसरी सम्झौता गर्नुभयो उपयुक्त थियो त्यो समय ?

कस्तो कुरा गर्नुहुन्छ । भाइचारको सम्बन्धमा सही भइराखेकै हुन्छ । भाइचार दुईवटा पार्टीबीचमा छ त केचारा सही हुन्छ त ?

चिनीया कम्युनिस्ट पार्टीका नेताहरुले तपाईंहरुलाई तालिम दिए नि ?

हामीले तालिम लिएको पनि छैन । दिएको पनि छैन ।

कसरी जाने भनेर तालिम दिएका छन् नि ?

पटक्कै दिएको छैन । यो सब गलत कुरा हो ।

अब कसरी अगाडि बढ्ने भनेर चीनका शीर्षत नेताहरुले तपाईंहरुलाई सुझाव दिएका छन् नि ?

यो सब गलत कुरा हुन् । जे हल्ला आयो त्यसलाई पत्याउन थाल्ने हो भने यहाँ उल्टा, पुल्टा सबै कुरा आएको छन् । त्यो कुरा छोड्नुस् । उनीहरुले आफ्नो देशको अनुभव मात्रै सेयर गर्ने हो । थोपर्ने होइन, माओत्छेतुंगको समयमा त थोपरेनन् भने अहिले थोपर्छन् । चीनले धेरै अनुभवहरु बटुलेर परिपक्व भइसकेको छ । त्यसकारण उसले आफ्नो सिद्धान्त, विचार अरुलाई थोपर्ने गर्दैन ।

पछिल्लो समय नेपाल कम्युनिस्टको सरकार बनिसकेपछि चीनको गतिविधि बढेको छ नि ?

हामी नेपालमा विकसित मुलुकहरुको गतिविधि बढोस् भन्ने चाहँदैनौं र ? संसारको लगानी नेपालमा आओस् भनेर हामी चाहँदैनौं ? अभैm हामीले खोजेजस्तो, चाहेजस्तो लगानी भएकै छैन । यहाँ कृषि क्षेत्रको विकास हुनुपर्ने त्यतिकै आवश्यकता छ । त्यसमा कति वाह्य कति स्वदेशी । त्यसैगरी उद्योगधन्दा, कलकारखाना, जलविद्युत्, टुरिजम, खानीहरुको खोजी र उत्खनन्लगायतका काममा लगानीको आवश्यकता छ । जसको कारणले देशमा रोजगार स्थापना गर्ने काम हुन्छ । अनि त्यत्तिकै अत्तालिनुपर्ने कुरै छैन ।

मलेसियामा चिनीयाँ लगानी असफल भएको छ नि ?

कहिले असफल भएको छ ?

त्यहाँबाट चिनीया लगानी फिर्ता भएको होइन ?

कहिले भयो मलाई थाहा छैन ।
बीआरआईको दोस्रो ठूलो सम्मेलन जुन शि जिन पिङले गर्नुभएको थियो । त्यहाँ म पनि गएको थिएँ । मलेसियाले बीआरआईको प्रोजेटको बारेमा भरपुर प्रसंसा गरेको थियो । त्यसकारण यी झुटा कुराको पछि नलाग्नुस् ।

माल्दिभ्सबाट चिनीयाँ लगानी फिर्ता भयो नि ?

फेरि यस्तै–यस्तै हावादारी कुरामा नजानुस् । कतिपय कुरामा समस्या होलान्, ब्यापारमा समस्या हुँदैन ? आर्थिक सम्बन्धमा केही समस्या हुन सक्छ । दुई देशबीचको छलफलबाट मिलाएर अगाडि बढ्छन् ।

सी जीन पिङको विकासको मोडल संसारमा सफल छ हो ?

सी जीन पिङको विचार चीनको लागि लागु हुने कुरा छ । हामी आफ्नो विचारको निर्यात् गर्दैनौं । यति भनिसकेपछि पुगेन ? चीनले आफ्नो विचार लागु गर्छ । हामी आफ्नो विचार लागु गर्छौं ।

तर, बीआरआईमा तपाईंहरु के कारणले जानुभयो ?

आजको हो ? बीआरआई । सुरु भएको सिआनबाट होइन ? त्यतिबेला कुनै रेलवेको विकास भएको थिएन । हवाइजहाज थिएन, ऊटबाट व्यापार हुने गर्दथ्यो । पैदल, खच्चडबाट ब्यापार हुने गर्दथ्यो । त्यो बेलामा सिआन्बाट वस्तुहरु इरानहुँदै सबैतिर जाने गरेको इतिहास थाहा छ कि छैन ? नेपालबाट काठमाडौंका ब्यापारीहरु सिआन शहरमा गएर पसल थापेको थाहा छ कि छैन ? चीनबाट त्यतिबेला नून ल्याउने गरेको थाहा छ कि छैन ? ‘ल्सामा सुन छ, कान मेरो बुच्चै’ भनेको सुन्नुभएको छ कि छैन ? आजका कुरा हुन् तिनीहरु ?

त्यसो भए बीआरआईमा जाँदा नेपाललाई फाइदा छ ?

सबै देशलाई जोड्ने कुरा पनि गलत हुन्छ ? सडक, बाटो, रेल, जलमार्ग, हवाई यातायातले जोड्ने । यो सबै अपराध हो ? जोड्दा त तपाईंलाई कुन कुराको व्यापार गर्नु छ, कुन कुराको आयात, निर्यात गर्नुछ त्यो गर्नुस् न तपाईं । त्यसले तपाईंलाई घाटामा जानुस् भन्छ ? नक्कली सामान किन्नुस् भन्छ ? आपैm नक्कली चिजमा फस्नुहुन्छ भने को जिम्मेवार हुन्छ । तपाईं सबैभन्दा नक्कली चिज किन्नुहुन्छ । न्यूजिल्याण्डमा मैले देखेको आठ प्रकारको किवी हुँदोरहेछ । ए ग्रडको किवी सबैभन्दा धनी देशमा जाँदोरहेछ । नेपालमा आठौं नम्बरको आउँछ कि छैटौं नम्बरको आउँछ त्यो किवी सस्तो हुँदोरहेछ ।

चीनले नेपालमा नौवटा परियोजना थाल्ने भनेको छ ती सबै परियोजनाहरु कार्यान्वयन हुन्छ ?

चीनले जे दिन्छ त्यहीं नेपालले लिने होइन । हामीले हाम्रो आवश्यकता अनुसार लिने हो । हाम्रो आवश्यकता के छ त्यो लिने हो ।

चीनसँग तपाईंहरु के के चाहनुहुन्छ ?

पहिलो कुरा कनेक्टिभिटी हो । रेल, यातायात, बाटो, नाकाहरुबाट धेरैभन्दा धेरै बाटो खुल्यो भने सामानहरु आओत, जाओत हुन सक्छ । रेल भयो भने धेरै सस्तो, सजिलो हुन्छ । अर्को विकल्प सामुन्द्रिक बाटो पनि हुन्छ । बाटो भएपछि सस्तो सामान दिन्छ भने किन ब्यापार नगर्ने ? इण्डियाले सस्तो दिन्छ भने उसको किन नलिने ? बाटोको विकल्प भएन भने मनोपोली हुन्छ । त्यसले कम्पिटिसन हुन दिँदैन । जब विकल्प हुन्छ मनोपोली हुँदैन । एउटा मात्रै डाक्टर, अस्पताल छ भने उसको मनोपोली चल्दैन ? यत्ति पनि थाहा छैन ?

तर, काठमाडौं रेल ल्याउन धेरै खर्च हुन्छ नि ?

त्यसलाई इकोनोमिक सोसेल र स्ट्राटेजीको कनेक्टिभिटी हुनुपर्छ । त्यसलाई ब्यापक रुपमा अध्ययन गर्नुपर्छ । अहिले नै घाटा भयो भने पनि दीर्घकालीन रुपमा त्यो लाभदायी छ कि छैन भनेर हेर्नुपर्छ ।

नेपाललाई लाभदायी छ ?

चीनको एक करोड चालिस लाख मान्छेहरुको थोरै एक प्रतिशत पनि नेपाल आयो भने टुरिजमको के हुन्छ अवस्था ? चिनीयाहरु संसारका अरु देशमा जानु हुने अनि नेपाल आउनुहुँदैन ?

रेल आउँदा चीनबाट काठमाडौं आउने धेरै होला तर काठमाडौंबाट के लिएर जाने ?

उत्पादन गर्नुपर्छ ।

उत्पादन गर्ने क्षमता छ त ?

उत्पादन गर्ने वस्तु छ । उत्पादनका निम्ति हामीले लगानीकर्ताहरु खोज्नुपर्छ । तिनलाई राज्यले प्रात्साहित गर्नुपर्छ । यसो गरियो भने नेपालबाट धेरै चिजहरु बाहिर लान सकिन्छ । अहिले नै नेपालबाट कतारमा तरकारी बिक्री हुँदोरहेछ । गल्फकन्ट्रीहरुमा नेपालबाट तरकारी जाँदोरहेछ । इलाम, धनकुटाबाट तरकारी बंगलादेशमा बिक्री हुन्छ । नेपालबाट तरकारी, जडीबूटी, कफीहरु जान सक्छ । युरोपियन मुलुकमा हिमालयन कफी सेन्टरहरु छन् । विश्वको सबैभन्दा राम्रो हिमालयन कफी हो । यहाँका जडिबूटी खाएका भेडा, च्याङ्ग्रा, खसी, बोकाहरु हुन्छन् । मासु पनि निर्यात गर्न सकिन्छ । यहाँ सफा पानीमा उत्पादन गरिएका माछाहरु हुन सक्छन् । माल्दीप्सले आफ्नो आम्दानीको ३० प्रतिशत माछाबाट गर्छ भने नेपालको पनि सम्भावना होला नि ।

त्यसो भए केरुङ–काठमाडौं रेल आइपुग्न कति समय लाग्छ ?

त्यो कुरा मलाई सोध्ने होइन । यो कुरा एउटा टेक्निकल मान्छेलाई सोध्नुस् । चीनको क्षमताको कुरा गर्नुहुन्छ भने त उसले एक वर्षमा अन्तर्राष्ट्रि एयरपोर्ट बनाउने रहेछ । भियतनाममा डेढवर्ष बनाउने रहेछ । भारतको हैरदावमा तीन वर्षमा बनाएको रहेछ । नेपालमा आठ वर्ष भन्छन् । लाजमर्दो छ । आठ वर्षमा एउटा हाइड्रो पावरको उत्पादन गर्न सक्दैनौं ।

राष्ट्रिय गौरवका प्रोजेटहरु १० वर्षसम्म तयार गर्न सकेको छैन नि ?

छिटो गर्नेलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्डित गर्नुपर्छ । कामको जिम्मा लिएर छिटो नगर्नेलाई जबसम्म दण्डित गरिँदैन । तबसम्म यो प्रवृत्ति सुध्रिनेवाला छैन ।

चिनियाँ राष्ट्रिपतिको नेपाल भ्रमण सफल हुन्छ हो ?

सफल हुन्छ । सफल गराउनुपर्छ । यो राष्ट्रिय प्रतिष्ठा र गौरवको कुरा हो ।

अब नेपालमा चीनको लगानी ह्वात्तै बड्छ ?

यसले राम्रो सन्देश दिन्छ । संसारभरि नेपालको नाम त चल्छ नि ।

अमेरिका त तपाईंहरुसँग रिसाएको छ नि ?

कसैको दबाब नेपाल जाँदैन । नेपालको पनि बुद्धि छ नि । के नेपाल चाहिं बुद्धिहीनहरुको देश हो । बुद्धि भएकाहरुको देश हो । शान्ति प्रक्रिया ल्याउन सक्ने, लोकतन्त्र ल्याउने सक्ने अनि हाम्रो स्वतन्त्र परराष्ट्र नीति चलाउँन सक्दैनौं ?

तर, नेपालको परराष्ट्र नीति सन्तुलित छैन नि ?

सन्तुलित छ । हुनुपर्छ भन्ने हाम्रो मान्यता पनि हो ।

विदेशीको स्वार्थ अनुसार तपाईंहरु नीति बनाउनुहुन्छ नि ?

ती कुराहरुमा हाम्रो बार्गेनिङ पावर कमजोर भएको हो । आफ्ना मान्छेहरुलाई त्यो ढंगले ट्रेन गर्न नसकेको कारणले पनि हो । तर, नेपाल कतैतिर ढल्किन जरुरी छैन । नेपालभित्र सर्वोपरि राखेर चल्नुपर्छ ।

तपाईंहरु चीनतिर ढल्केको होइन ?

कतै पनि ढल्किँदैनौं हामी ।

चीनसँग पहिलाभन्दा बढी नजिक त भएको हो नि ?

अहिले भर्खरै भारतबाट आयो भने त्यसलाई भारततिर ढल्केको भन्ने ? चीनबाट आयो चीनतरि ढल्केको भन्ने ? युरोपबाट आएमा युरोपतिर ढल्केको भन्ने ?

नेपालको नीति नेतामुखी भयो देशमुखी भएन ?

नेतामुखी हुनुहुँदैन । देशमुखी बन्नुपर्छ ।

नेपालमा विदेशी लगानी बढ्छ अब ?

बढाउनुपर्छ ।

त्यो सम्भावना छ ?

सम्भावना पनि छ, आवश्यकता पनि छ ।

कम्युनिस्टको सरकार बनेपछि विदेशीले जति सहयोग गर्नुपर्ने हो त्यो भएन नि ?

कम्युनिस्ट पार्टीको सरकार २०५१ सालमा पनि थिएन र ? त्यो बेलामा म आपैm परराष्ट्र मन्त्री थिएँ । युरोपका सारा देश भ्रमण मैले गरेको हुँ । जापानमा गएर मैले कुरा गरेको हुँ । त्यहाँका विजनेम्यानहरुसँग । त्यसकारण मनमा भएका संसयलाई त्यहींबेला हटाइसकेका छौं ।

तर, जति आउनुपर्ने हो केपी ओली नेतृत्वको सरमारमा त्यति आएन ?

कतिपय नीतिले अवरोध खडा गरेर होला । कतिपय कामको कार्यशैलीमा खरादेखिएर होला । ब्युरोक्र्याटिकहरुको कारणले पनि हुनसक्छ । हाम्रो यति धेरै पानी छ । किन बिजुली प्रशस्त छैन ? किन यहाँ काम गर्ने शैली नै भएन ?

अहिले भारतसँगको सम्बन्ध सुमधुर र प्रगाड छ ?

बाहिरी कुरा चलिरहेकै छ नि । अब भित्री कुरा मलाई थाहा भएन । चुनावको कारणले पनि हुन सक्छ ।

तपाईंहरुले तयार पारेको प्रतिवेदन मोदीले लिनुहुन्छ ?

मोदीजीको के प्रतिक्रिया मैले बुझेको छैन । नबुझिकन त्यतिकै बोल्ने बानी राम्रो होइन ।

त्यसो भए अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चाई बढेको हो ?

तपाईं व्यक्तिको नाम लिएर लडाउने काम नगर्नुस् । त्यसो नगरौं देश अगाडि बढ्नुपर्छ । त्यो बढाउने काम कम्युनिस्ट पार्टीबाहेक अरु विकल्प पनि छैन ।

तर, जनताले त विकल्प खोज्न थालिसकेका छन् ?

अरु को छन् गतिला ? यहाँ सबै एक–एक छन् खुट्टी नदेखेर मात्रै हो । सबैका पर्दाफास भयो भने सबैका कुरा बाहिर आउँछन् । हामीमा त्रुटी होला । त्यसलाई रिअलाइज गर्नुपर्छ त्यसलाई सुधार गर्ने दायित्व हाम्रो हो ।

ललिता निवास जग्गा प्रकरणमा तपाईंको पनि नाम जोडिएको छ, अख्तियारले बयानको लागि बोलायो नि ?

नचाहिने कुरा नगर्नुहोस् । यस्तै–यस्तै फटाहा कुरा गरेर तपाईं हिड्ने हो ? नभएको कुरा गर्नुहुन्छ मलाई अख्तियारले कहिल्यै बोलाएको छ ? मलाई बोलाउनुपर्ने के कुरा छ त्यहाँ । मेरो तर्पmबाट आजसम्म कुनै पनि अनुचित काम भएको छैन । कतैबाट एक धूर जग्गा, एक रुपैयाँ दिएको छैन अनि मलाई बोलाउँछ ?

बाहिर समाचार त आयो नि माधव नेपाललाई बोलायो भनेर ?

हिजो राति पुलिस कष्टडीमा माधव नेपाल परे भन्ला त्यसलाई मान्ने ? माधव नेपाल रक्सी खाएर बाटोमा लडिरहेको थियो भन्ला मान्ने ? यस्ता झुटा कुराहरुको पछि नलाग्नुस् ।

त्यसो भए ललिता निवास जग्गा प्रकरणमा तपाईंको कुनै संलग्नता छैन ?

कुनै हालतमा छैन । ललिता निवास होइन मेरो प्रधानमन्त्री निवासको निर्माण गर्ने कुरा हो । त्यसमा जस–जसले बदमासी गरेका छन् ।

File Photo

 



प्रतिक्रिया दिनुहोस्