Logo

निर्वाचन कार्यालयको भवन निर्माण



म्याग्दी, २२ असोज : बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ ।

रु एक करोड ६४ लाख १४ हजारको लागतमा निर्माण भएको सो भवन तीन तले नौ कोठे रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री सो भवनमा कार्यालय प्रमुख, प्रशासन, लेखा, सहायता कक्ष, प्रविधि, तालीम हल, स्टोर, अतिथि गृह, आवास र सूचना प्रविधि कक्ष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुविधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाहमा सहजता आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।उनका अनुसार म्याग्दीमा हालसम्म ३९ हजार २६९ पुरुष, ४२ हजार १७७ महिला र एक जना तेस्रो लिङ्गीसहित कूल ८१ हजार ४७७ को तस्वीरसहितको मतदाता नामावली सङ्कलन भएको छ ।

ताकम बिजुलीको पहुँचमा

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । यसबाट साविकको ताकम गाविसको ३, ४ र ५ नम्बर वडाका २०० घरपरिवार लाभान्वित भएका छन् ।

हिलापोखरी, शिवाङ, मच्छिम, काफलडाँडा र आरखोलाको थप करीब ४०० घरमा बिजुली बाल्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले बताए । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरि गाउँपालिकाको सहयोगमा विद्युतीकरण भएको हो ।

यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको थियो । केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको स्थानीय गोपाल आचार्यले बताए ।

“मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ”, आचार्यले भने , “खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् ।” फर्निचर, ब्लक, राइसमील, मासु पसल सञ्चालन हुन थालेको छ । यसअघि उज्यालोका लागि स्थानीयवासीले सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए ।

विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो । गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए ।

प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईंले ताकमका साथै मुना हँुदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको जानकारी दिए । धवलागिरी गाउँपालिकाकाकै मराङको १०० घरमा पनि विद्युतीकरणको तयारी भएको वडाध्यक्ष राजाराम शर्माले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्