Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लेनदेनको हिसाबकिताब नबनाऔं : माधव नेपाल (भिडियोसहित)



काठमाडौं, २२ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चीनले नेपललाई रेल दिने वा के दिने भनेर नचाहिने कुरा गर्न नहुने धारणा राखेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्,‘चीन भनेको धनी देश हो । अरु पनि धनी देशहरु छन् । ती धनी देशहरुले कुनै न कुनै रुपले सहयोग गरेका हुन्छन्, गरेको पनि छ । ती देशहरुबाट भ्रमण हुँदा केही सहयोगका सम्झौताहरुमा सही पनि हुन्छन् । ती देशहरुले खासगरी कनेक्टिभिटीमा बढी जोड दिएका हुन्छन् ।’

हाम्रो देशले चीनले ऋणमा दिएको रेल थेग्न सक्छ ? भन्ने प्रश्नमा उनले चीनले ऋणमा दिएको रेल थेग्न सक्छ वा सक्दैन त्यसबारेमा पक्कै पनि छलफल हुने विश्वास दिलाए । उनले भनेका छन्,‘नेपालले त्यसबाट हुने व्यापारिक, आर्थिक, टुरिजम लाभको पक्षेलाई हेरेर जाने हो । त्यसको लागि वैकल्पिक मार्ग चाहिन्छ । एकपक्ष मात्रै भएर हुँदैन । पहिला हामीले पटक–पटक हण्डर नखाएको होइन । त्यसमा विकल्प भयो भने नेपालले त्यस्ता खाले चुनौतीको सजिलै सामना गर्न सक्छ । नेपाली जनताले सामना गरेका पनि हुन् । पानी नखाएर पनि कालापानीको युद्धमा लड्न सक्ने नेपाली जनताहरु हुन् । डिजल नपाउँदा पनि पैदलदेखि साइकिलको भरमा हिड्ने आँट गरेका हुन् । यस्ता त्यागले गर्दा नेपाली जनतामा प्रगाड रुपले देश भक्ति जागेको छ । यस्ता घटनाले छिमेकी मुलुकमा कता–कता तीतोपन ल्याइदियो । त्यसले नेपाली जनमानसमा निकै ठूलो आघात पु¥याउने काम भयो ।’

नेपाल कम्युनिस्ट पार्टीको नीति चीनमुखी हुन थालेको हो ? त भन्ने प्रश्नमा उनले भने,‘नेपालको नीति कहिल्यै पनि चीनमुखी पनि हुँदैन, भारतमुखी पनि हुँदैन । दुवै देशसँग हाम्रो सुमधुर सम्बन्ध हुनुपर्छ । त्यस कुरामा हामीले विश्वास गर्नुपर्छ । आर्थिक र व्यापारिक कुरा जुन छ, जहाँ लाभ हुन्छ त्यहाँ सम्बन्ध रहन्छ । जहासम्म नेपाललाई सहयोग गर्ने कुरा छ । त्यसमा कुनै पनि शक्ति बन्दी हुने कुरा नेपाललाई स्वीकार्य हुँदैन । अनुचित शर्त बन्दीलाई नेपालले स्वीकार गर्दैन् ।’



प्रतिक्रिया दिनुहोस्