Logo

देव गुरुङलाई सभामुख बनाउन दाहाल–नेपाल सहमत, सुरु भयो गृहकार्य



काठमाडौं, २३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आज अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि अब कसलाई सभामुख बनाउने भन्नेबारे छलफल गर्न नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

स्रोतकाअनुसार नेता नेपाल र अध्यक्ष दाहालबीच पार्टीको तर्फबाट संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई सभामुखमा अघि सार्ने सहमति बनेको छ । यसअघि पार्टीको तर्फबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नाम चर्चामा थियो । तर, स्वयम् नेम्वाङले नै आफ्नो यसमा कुनै रुचि नभएको स्पष्ट पारेपछि अध्यक्ष दाहालले गुरुङलाई अघि सार्न लागेको बुझिएको छ ।

गुरुङ जनजाति पनि भएको र संसदीय अनुभव राम्रो भएकोले उनलाई सभामुख बनाउँदा उत्तम हुने नेताद्धय दाहाल र नेपालको निश्कर्ष छ । अहिले नेकपाकै तर्फबाट डा. शिवमाया तुम्बाहाङफे उपसभामुख छिन् । अब नेकपाले सभामुखमा दाबी गर्ने भएको हुँदा उनले राजीनामा दिने बुझिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार पनि एउटै पार्टीले सभामुख र उपसभामुख हुन पाईँदैन् । अहिले संघीय संसदको अधिवेशन अन्त्य भएको छ। नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ। कात्तिकको अन्त्यतिर नै नयाँ अधिवेशन सुरु गर्ने तयारी रहेको संसद सचिवालयका एक कर्मचारीले जानकारी दिए । गुरुङलाई सभामुख बनाउनुपर्छ भनेर नेता नेपालले पार्टीभित्रै लविङ सुरु गरेको एक नेताले जनाए । नेता नेपाल नेम्वाङलाई बनाउनुहुँदैन् भन्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्