Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, ऋणमा रेल बनाउने सम्झौता नगर्न कांग्रेसको सुझाव



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी शनिबार र आईतबार हुने राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको छलफलमा कांग्रेसका नेताहरुले ऋणमा रेलमार्ग बनाउने सम्झौता नगर्न सुझाव दिएका छन् । कांग्रेसको तर्फबाट पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व परराष्ट्रमन्त्रीद्धय सुजाता कोइराला र डा. प्रकाशशरण महतको सहभागिता थियो ।

कांग्रेस नेताहरुले चीनसँग भौतिक पूर्वाधार विकासमा समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । तर, ऋणमा रेल बनाउन नहुने भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकार्षण गराएका थिए । बरु, उनीहरले अनुदानमा बनाउने भए रेलमार्ग बनाउँदा हुने तर्क गरेका थिए । चीनसँगमात्रै नभएर भारतसँगपनि ऋणमा नभई अनुदानमै रेल बनाउनुपर्ने कांग्रेसको जोड छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन् । छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्