Logo

थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै



लमही, २३ असोज : थारु जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली अध्ययन गर्नका लागि यहाँ थारु सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । दङ्गीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ ।
सङ्ग्रहालयमा एक हजारभन्दा बढी थारु संस्कृतिसँग जोडिएका कलाकृति यहाँ राखिएका छन् । थारु जातिको संस्कृतिलाई जीवन्त राख्नका लागि करीब रु तीन करोडभन्दा बढी आर्थिक लगानी भइसकेको बताइएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सङ्ग्रहालयको सवलीकरणका लागि रु ६५ लाख सहयोग गरेपछि सांस्कृतिक सङ्ग्रहालयलाई थप व्यवस्थित गर्ने काम गरिएको प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बताए ।

थारु सङ्ग्रहालयमा थारु जातिको कला, संस्कृति, रीतिरिवाजसँगै थारु जातिका प्रथम राजा दङ्गीशरणको प्रतिमा समेत स्थापना गरिएको छ । थारु जातिको उद्गमस्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु सङ्ग्रहालय स्थापना गरिएको हो ।

सांस्कृतिक सङ्गहालयमा दाङका थारु समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडा, ढकिया, गुन्दी, जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा, हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीर राखिएको छ । चार बिघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक सङ्ग्रहाललाई दाङका थारु जातिको मात्र नभएर नेपालकै थारु जातिको नमूना केन्द्रका रुपमा विकास गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्