Logo

माहुरीसँग रमाउँदै युवा



रुकुमपूर्व, २३ असोज : देशमा रोजगार छैन भन्दै दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशी हानिरहेका छन् । आफ्नै गाउँघरमा परिश्रम गरेर कमाउनु अनि रमाउनुको साटो अहिले युवाको वैदेशिक रोजगारप्रति आकर्षण बढ्दै गएको छ । तर रुकुम (पूर्व) का केही युवा भने गाउँमै परिश्रम गरेर आफ्नो छुट्टै खालको पहिचान बनाउन सफल भएका छन् ।

यतिबेला सिस्ने गाउँपालिका वडा नं ३ का ओमप्रकाश खड्कालाई आफूले पालेका माहुरी स्याहार्न ठिक्कै छ । माहुरीलाई आहारा खुवाउने, माहुरीको घार सफा गर्ने लगायतका काममा व्यस्त भएपछि उनि आजभोलि साथीभाइसँग गफमा भुल्ने र पसलतिर चिया पिउनसमेत निस्कन पाउनु हुदैन । उनि आफ्नो काममा निकै व्यस्त देखिनुहुन्छ ।

उहाँको घरमा १०० वटा माहुरीका घार छन् । उनको घरमा भएका माहुरीको घारको सङ्ख्या दैनिक फेरबदल भइरहन्छ । किनभने उनले मह मात्र होइन, माहुरी पनि बेच्ने गर्छन । माहुरी र घार बेचेर मनग्य आम्दानी गर्न सफल ओमप्रकाश गाउँमै सबैभन्दा बढी माहुरीपालक कृषकका रुपमा चिनिनुभएको छ । उनले मह र माहुरी बेचेर वार्षिक रु १० लाख आम्दानी गर्ने गरेको बताए ।

नेपालमा बसेर केही गर्न सकिँदैन भन्दै पैसा कमाउन विदेश जानेका लागि उहाँले नेपालमै परिश्रम गरेर मनग्य आम्दानी गरी उदाहरण बन्नुभएको छ । उहाँले एक जनालाई माहुरी हेरचाहका लागि राखेर रोजगार दिएको छ ।

हरेक वर्ष कात्तिक र मङ्सिरमा घारबाट मह निकालिन्छ । मह बेचेर वार्षिकरुपमा रु पाँच-छ लाख आम्दानी गर्दै आएको उनले बताए । मह मात्र नभई उनले माहुरी बेचेर आम्दानी गर्दै आएको छ । घार बेचेर वर्षमा रु पाँच लाख माथि आम्दानी गर्ने गरेको उनले बताए ।

“माहुरीसँगको घार आठ हजारदेखि १० हजारसम्ममा बिक्री हुने गरेका छन्”, उनले भने, “विदेशी माटो आफ्नो पसिनाले सिञ्चित गर्नुभन्दा स्वतन्त्ररुपले परीवारसँगै रमाउँदै काम गर्नुको मज्जा बेग्लै छ ।” विदेश जाने कतिपय युवालाई उहाँले आफ्नो कामको प्रभावमा पारिसक्नुभएको छ ।

त्यसैगरी सोही ठाउँका अर्का ओमप्रकाश खड्का माहुरीपालन व्यवसायमै रमाउँदै आउनुभएको छ । उहाँसँग अहिले ६० घार छन् । भर्खरै वर्षाको मौसम सकिएको हुनाले माहुरी आफैँले आफ्नो खाना जुटाउन थालेको उनले बताए । वर्षापछिको समय माहुरीले मह लगाउने मौसम भएको ओमप्रकाशले बताए ।

उहाँले गत वर्ष माहुरी र मह बेचेर रु सात लाख ५० हजार आम्दानी गरेको बताए । “माहुरीको परिश्रम अगाडि हामीले गरेको यो परिश्रम त केही पनि होइन”, उनले भने , “देशमा रोजगार छैन भन्दै विदेशमा गएर पसिना बगाउनुभन्दा आँफै स्वदेशमा रोजगारीको अवसर सीर्जना गर्नतिर लाग्नुपर्छ ।” माहुरीबाट गरेको आम्दानीले नै घरखर्च टर्ने गरेको उनले बताए ।

माहुरीको पकेट क्षेत्र घोषणा गरिएको सिस्ने– ३ का अधिकांश घरमा माहुरीका घार छन् । पकेट क्षेत्र घोषणा भएसँगै वडा नं ३ मा ‘एक घर एक माहुरी’ लागू भएको छ । माहुरीपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको स्थानीयवासी बताउँछन् ।

त्यहाँका मानिसले आफूले पालेका माहुरीलाई असार १५ देखि माघ १५ सम्म घरमा र फागुनदेखि जेठको महीनासम्म चिउरी जङ्लमा लगेर छोड्ने गर्दछन् । अरुबेला घरमा राख्ने माहुरीलाई जङ्गलमा चिउरी फुल्न शुरु गरेसँगै आफूलाई सुरक्षित लाग्ने ठाउँ छनोट गरी चरनको लागि जङ्लमा लैजाने गरेको अर्का माहुरीपालक कृषक लीलबहादुर खड्काले बताए ।

धेरथोर माहुरी पालिरहेका सिस्ने गाउँपालिकाले वडा नं ३ पोखरालाई माहुरीको पकेट क्षेत्र घोषणा गरेपछि निकै उत्साहित भएका छन् । आफ्नो व्यवसायमा सरकारले सहयोग गर्ने भएपछि पोखराबासीहरु माहुरीपालन व्यवसायतिर आकर्षित हुँदै एक घर एक माहुरीको अवधारणालाई अङ्गालेका छन् ।

एकातिर माहुरीपालन व्यवसायतिर मानिस आकर्षित हुँदै गएका छन् भने अर्कोतिर माहुरीको चरन क्षेत्र विस्तारै मासिँदै गएको छ । मानिसका विभिन्न क्रियाकलापले गर्दा अहिले माहुरीको चरनक्षेत्र मासिँदै गएको स्थानीयवासीले बताएका छन् । माहुरीको मुख्य चरन क्षेत्र भनेको पुष्पखेती हो । माहुरीको मुख्य आहारा मानिने तोरी कतै देखिँदैन । मानिसले तोरीखेती गर्न छोडिसकेका छन् ।

जथाभावीरुपमा विषादीको प्रयोग गरिरहेका छन् । जलवायु परिवर्तनको असर परिरहेको छ । त्यस क्षेत्रमा घर बनाउनका लागि मुख्य काठका रुपमा चिउरीको काठ प्रयोग गर्ने भएकाले चिउरीको जङ्गल फँडानी बढिरहेको छ । मानिसका यिनै क्रियाकलापले गर्दा माहुरीपालन व्यवसायमा समस्या उत्पन्न हुने जनता मावि पोखराका प्रधानाध्याप कलु खड्काले बताए ।

उनले भने , “मान्छेका यस्ता खालका गतिविधि नरोकिने हो भने माहुरीलाई चाहिने आवश्यक रसको कमी हुने र माहुरीपालन व्यवसाय सङ्कटमा पर्न जाने छ ।” त्यसैले यहाँका मानिसले पुष्प व्यवसायलाई विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।

माहुरीपालनका लागि सिस्ने गाउँपालिकाले माहुरी व्यावसायिक, कृषि सहकारी तथा कृषि फार्मलाई अनुदान दिएको छ । गाउँपालिकाले यस वर्षलाई माहुरी प्रवद्र्धन वर्षका रुपमा मनाउने तयारी गरेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए ।

त्यसैगरी यसै वर्षमा गाउँपालिका र प्रदेश नं ५ सरकारले संयुक्तरुपमा माहुरी कृषकलाई अनुदानका लागि रु २५ लाख बजेट छुट्याएको पनि उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्