Logo

चिनियाँ राष्ट्रपतिको भ्रमण : सरकारको हरेक कदममा कांग्रेसको साथ रहने देउवाको विश्वास



काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर वर्तमान सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको साथ र सहयोग गर्ने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदुतहरुसँगको छलफलको क्रममा नेता देउवाले यस्तो धारणा राखेको प्रधानमन्त्री ओलीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनकाअनुसार बैठकमा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे राजनीतिक रुपमा सबै दलको एउटै धारणा रहेको छ । भट्टराईले देउवाको भनाई उल्लेख गर्दै भने,‘यो भ्रमणलाई लिएर सरकारले चालेको जस्तोसुकै कदमलाई हामी साथ दिन्छौं । यो भ्रमणलाई विवादरहित बनाउनुपर्छ । भ्रमणलाई सफल तुल्याउनको लागि नेपालको तर्फबाट कुनै कसर बाँकी राख्नुहुँदैन् ।’

त्यस्तै, कांग्रेसले राष्ट्रपतिको भ्रमणको दौरानमा नेपालको हित हुनेगरि सम्झौता गर्नुपर्नेमा पनि जोड दिएको छ । कांग्रेसले चीनसँग सहयोग र अनुदानमा परियोजना बनाउनुपर्नेमा नै बढि जोड दिएको छ । त्यस्तै, संयुक्त लगानीमा परियोजना बनाउनुपर्ने कांग्रेसको अडान छ ।

रेलमार्गलगायतका अन्य परियोजना बनाउनको लागि चिनियाँ ऋण लिन नहुने कांग्रेस नेताहरुको धारणा छ । सभापति देउवाले रेल ल्याउनुपरे पनि अनुदानमा ल्याउनुपर्ने आफ्नो भनाई राखेका थिए । उनले भनेका थिए,‘हामी ऋणमा डुब्नुहुँदैन् । सि जिनपिलाई कन्भिन्स गरेर अनुदानमा बनाउन सकिन्छ भने रेलमार्ग पनि जान सकिन्छ ।’

उता, प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने बताएका छन् । चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रआिएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति सीको भ्रमण हुने कुरा खुशीको विषय हो भन्दै राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारीका साथ चीनसँग सहकार्य गर्न सुझाव दिइएको बताए । आफूहरु नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एण्ड रोड’ इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री डा महतले ऋण लिएर रेलजस्ता ठूला आयोजना भने हतारोमा शुरु नगर्न ध्यानाकर्षण गराए ।

उनले नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि सरकारसँग आग्रह गरे । करीब चार घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिएका थिए भने सहभागी नेता एवं विज्ञले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमण ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धिसम्झौता गर्न सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्