Logo

सीको भ्रमणमा नेपालले झिनामसिना भन्दा दिर्घकालिन हित हुने परियोजनामा सम्झौता गर्नुपर्छ : डा. शर्मा (भिडियोसहित)



काठमाडौं, २३ असोज । चीनको लेशान नर्मल विश्वविद्यालयका एशोसिएट प्राध्यापक डा. बुद्धि प्रसाद शर्माले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा नेपालले झिनामसिना सम्झौताभन्दा दिर्घकालिन हित हुने परियोजनामा सम्झौता गर्नतर्फ बढि ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले सीको भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले चीनमा देङसियाओ पिङपछि चिनियाँहरुले सबैभन्दा बढि मान्ने नेतामा वर्तमान राष्ट्रपति सी पर्ने बताए । उनले थपे,‘उहाँको देशभित्र र बाहिर दुवैतिर त्यतिनै राम्रो छबि छ । उहाँलाई मान्नेहरु देशबाहिर पनि उतिकै छन् । चीनले अघि सारेको बेल्ट एण्ड रोड ईनिसिएटिभले विश्वभरि एउटा आशा सञ्चार गरेको छ । सीको यो नेपाल भ्रमण अत्यन्तै ऐतिहाँसिक र महत्वपूर्ण छ ।’

उनले सीको नेपाल भ्रमणलाई लिएर सारा विश्वले यतिवेला नेपालतिर हेरिरहेको पनि तर्क गरे । उनले भने,‘आखिर सी नेपाल किन गैरहेका छन् ? के छ नेपालमा त्यस्तो ? किन नेपालले यतिवेला सिलाई स्वागत गर्न खोजिरहेको छ ? भन्ने किसिमबाट विश्वले नै हेरिरहेको छ । हामीले पनि यो भ्रमणलाई सफल बनाउनुपर्छ । यो अवसरलाई हामीले सही सदुपयोग गर्नुपर्छ । नेपालले आफ्नो हितमा यो भ्रमणलाई प्रयोग गर्न सक्नुपर्छ ।’

सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड नेक्शनले चीनको भ्रमण गरेको सुनाउँदै शर्माले देङ सिआयो पिङको १९७८ अगाडि भएको यो घट्नाले विश्वको लागि ढोका खोलिदिएको तर्क गरे । उनले थपे,‘अहिले चीन विश्वको ग्लोबलाईजेशनको हिरो र क्यापिटलको हिरो हो । जोसँग विश्वमा सबैभन्दा बढि फरेन करेन्सी रिजर्भ छ । यस्तो पावरलाई हामीले अहिले स्वागत गर्न गैरहेका छौं । बिआरआई सिले नै बाहिर ल्याएको कुरा हो ।’

नेपालले यो भ्रमणमा सानातिना कुरा र झिनामसिना सम्झौता भन्दापनि नेपललाई दिर्घकालिन रुपमा लाभ हुने विषयमा बढि केन्द्रित हुनको लागि उनको सुझाव छ । उनले भने,‘हामीले ठूला संरचनामा बढि ध्यान दिनुपर्छ । जस्तो रेलवेको कुरा हुनसक्छ । सडकमार्ग, उर्जा, सञ्चार, प्रविधि र बास्तवमा विकास र समृद्धि भनेको लगानी हो । बिना लगानी केही हुनेवाला छैन् । आजको चीन र भारत लगानीले नै भएको हो । मसँग पैसा छैन भन्नुपर्ने अवस्था छैन् । त्यसको लागि देशभित्र आर्थिक र कानुनी संरचना र वातावरण बनाउनुपर्छ । कानूनमा सुधार हुनुपर्छ । सरकारले समृद्धि–समृद्धि त भन्छ, तर त्यो ढंगबाट हाम्रा कानूनी संरचना तयार भएका छैनन् । नेपालले ठूला आयोजनाहरुलाई जोड दिनुपर्छ ।’

चीनले आर्थिक समृद्धिमा ठूलो फड्को मारेको बताउँदै उनले चीनको सरकार आफ्नो देशको सबै ठाउँमा पुगेको सुनाए । उनले भने,‘चीनले आफ्नो देशको सबै ठाउँमा आधारभुत पूर्वाधार विकास पुर्याएको छ । चीनबाट हामीले धेरै लाभ लिन सक्छौं ।’

शर्माले सी विचारधारा नेपाल आईरहेको छ भनेर हल्ला भएकोबारे टिप्पणी गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको पनि जिकिर गरे । उनले भने,‘यो बास्तवमा सत्य होईन । सी थट त चीनको लागि हो, चीनको माटो सुहाउँदो हो । चीनको एउटा कार्यक्रम हो । चीनको सामाजिक–सांस्कृतिक सबै कुरा हेरेर बनेको दस्तावेज हो । त्यसबाट हामीले सिक्न सक्छौं । हाम्रो समृद्धिको मोडल कस्तो हुनुपर्छ भनेर नेपालले सिक्न सक्छ । तर, चीनले पनि यो विचारधारा एक्सपोर्ट गर्दैन् । पश्चिामाहरुले जस्तो चीनले अहिलेसम्म कतैपनि हस्तक्षेप गर्ने काम गर्दैन् ।’

उनले नेपालले पूर्वाधार विकासमा बढिभन्दा बढि लगानी कसरी भित्र्याउने भनेर ध्यान दिनुपर्ने पनि धारणा राखे । उनले भने,‘आज पूर्वाधार विकासकै कारण चीनलाई सानो बनाएको छ । विहान फास्ट ट्रेन चढ्यो भने नपुग्ने ठाउँ कतै छैन् ।’

त्यस्तै, उनले विद्युतमा पनि विकास गर्नुपर्ने र नविकरणीय उर्जामा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘पर्यटन त नेपालको विकासको आधारस्तम्भ नै भैहाल्यो । चीनमा अहिले मिडल ईन्कम भएकाहरु धैरै छन् । यो संख्या बढेको बढै स्थिति छ, त्यहाँबाट सानो पपुलेशनमात्रै नेपाल भित्र्याउन सकियो भने पर्यटनको क्षेत्रमा धेरै विकास हुन्छ । चीनमा ३० मिलियन त बुद्धधर्म मान्नेहरु छन् । उहाँहरु नेपाल आउन ईच्छुक हुनुहुन्छ । भिजिट नेपाल–२०२० लाई सफल तुल्याउनको लागि भीजन चाहिन्छ । त्यहीअनुसारको तयारी गर्नुपर्छ ।’

त्यस्तै उनले सीको भ्रमणको दौरानमा नेपालले लाभ लिने क्षेत्रहरुको पहिचान गर्नुपर्ने बताए । उनले भने,‘ऋणमा फस्ने काम पनि छैन् । बढिभन्दा बढि लगानी भित्र्याउनको लागि प्रयास गरौं । पूरानो सन्धि÷सम्झौतालाई समयानुकल बनाउने प्रयास गर्नुपर्छ । सीको यो भ्रमणले ऐतिहासिक महत्व बोकेको छ । सारा विश्वले नेपाललाई यतिवेला हेरिरहेको छ । नेपालले आफ्नो तर्फबाट यो भ्रमणलाई सफल तुल्याउनको लागि कुनै कसर बाँकी राख्नुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्