Logo

महराजीको मामलामा पश्चिमाहरुको षड्यन्त्र छ-देवप्रसाद गुरुङ



काठमाडौं, २३ असोज । देवप्रसाद गुरुङ भावी सभामुखका प्रबल दाबेदारमध्येका हुन् । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक गुरुङले महरा प्रकरणबारे सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

शनिबार चिनियाँ राष्ट्रपति आउँदैहुनुहुन्छ तयारी पूरा भइसक्यो ?
सरकारको भनाइअनुसार तयारी अन्तिम भइसकेको छ । त्यसकारण चिनियाँ राष्ट्रपतिको स्वागतका लागि नेपाल प्रतिक्षारत रहेको देखिन्छ ।
हाम्रो देशमा सडक सफा र पिच हुनपनि विदेशी हाइप्रोफाइलको पाउना आउनुपर्ने रहेछ होइन ?
पहिलादेखि देखावटीका खालका कामहरु नभएका होइनन् । शि जिन पिङको भ्रमणको प्रसंग अहिले तत्काल नभएर पहिला देखिकै हो । सडक मर्मत तथा निर्माणका कामहरु पहिलादेखि भइराखेका हुन् । विकास निर्माणको काम नियमित लागिरहनुपर्ने हो । लागिपनि रहेका छन् । त्यति हुँदाहँुदै पनि यतिखेर काठमाडौंमा शि जिन पिङको भ्रमणलाई लक्षित गरेर सकडहरु अलि बढी सिंगारिएको छ, जुन उहाँको स्वागतको लागि ।
केरुङबाट काठमाडौं रेल ल्याउने कुरामा चीन–नेपालीबीच सहमति हुँदैन हो ?
यसमा एक प्रकारले सैद्धान्तिक सहमति भइसकेको अवस्था हो । औचपरिका रुपमा पनि सहमतिका लागि तयारी भइरहेको छ । चिनीयाँ राष्ट्रपतिको भ्रमणको क्रममा यो दिशामा केही गुणात्मक कदमहरु अगाडि बढ्ने छ ।
चीनसँग रेल लोनमा लिने कि, अनुदानमा ?
पूर्वाधारको लागि सामान्य रुपमा चीनले सहयोग गर्ने भनेको छ । यसमा दुईवटा मोडल देखिन्छ । एउटा सफ्ट लोनको र अर्को अनुदान । जति परियोजनाहरु छन्, ती सबै अनुदानमा नहोला । यसमा केही अनुदान, केही सफ्ट लोन र केही आन्तरिक स्रोतबाट हुन सक्छ ।
तपाईं अनुदानमा ल्याउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
यसलाई समग्रतामा हेर्ने कुरा भन्ने लाग्छ । यसमा नेपालले मेचिङ फन्ड राख्दा पनि कति राख्ने भन्ने कुरा सहमतिबाट मात्रै टुंगिने कुरा हो । यसमा मूल हिस्सा त अनुदानबाटै हुन्छ ।

तपाईं कृष्णबहादुर महरा प्रकरणमा षड्यन्त्र छ भन्नुभएको छ पार्टीभित्र कि बाहिरबाट ?
उहाँले पनि केही गल्तीहरु गर्नुभएको छ । खासगरी सांस्कृति, नैतिक पाटोमा महिलाको विषयमा उहाँको कमजोरी भएकै हो । अहिले जे–जस्ता प्रक्रियाहरु अगाडि बढिराखेका छन् । ती उहाँका कमजोरीमा मात्रै सीमित रहेको अवस्था देखिँदैन । यसमा कतैबाट षड्यन्त्र भएको हो कि भनेर आशंका उठ्ने ठाउँहरु छन् ।
षड्यन्त्र कसरी भएको हुनसक्छ, त्यसका आधारहरु दिनुस् न ?
यसमा दुई÷तीनवटा कुराहरु छन् । पहिलो कुरा पार्टी एकताको सम्बन्धमा पश्चिमाहरुले नेपाललाई युद्ध भूमि बनाउन खोज्ने गरी प्रयोग गर्न खोजेका थिए । जसमा हामी उनीहरुको बाधक हुनसक्छौं भन्ने अन्तर, कुन्तर चलिरहेका अवस्था हो । अहिले चीनको विषयलाई लिएर पनि यो बहसको विषय बनेको छ । महराजीले पञ्चशीलको अवस्थामा लगातार अडान दिइराखेको अवस्था हो । दोस्रो यो परिघटना घटिसकेपछि अनायसमा संयुक्त राष्ट्रसंघ र पश्चिमा केही मुलुकहरुका कुटनीति निकायले जुन टाइपको वक्तव्य निकाले एउटा निजी मामलासँग जोडिएको सास्कृति कमजोरीको बारेमा जसरी व्यक्तबाजी भएको त्यसको पछाडि आशंका छ । तेसो राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्राधिकारको विषय होइन । त्यसमा उसले जुन टाइपको व्यक्त निकालेको छ, त्यसको पछाडि पनि केही न केही छ भन्ने लाग्छ । अर्को पीडित महिलाले उहाँ दोषी होइन भनेर जाहेरी दिन जाँदा उनलाई सातघण्टासम्म नियन्त्रणमा राखेर जबर्जस्ती करणी गरेको हो भन्ने खालको जाहेरी बनाएर साइन गराएको छ । फेरि अदालत विदामा भएको बेलामा पनि उहाँलाई हिरासतमा लिइएको छ । हिरासतमा पनि भेटघाट गर्न नदिने गरी जसरी राखिएको छ । यी सबैलाई नियाल्दा यो कतै राजनीनिक रुपले इन्डोप्यासेफिक बहसमा परेका कारणले गर्दा कति पश्चिमा शक्तिहरुले आँखा लगाइरहेका छन् । यस्ता शक्तिहरुले कतै षड्यन्त्र त गरिराखेको छैन ? भन्ने प्रकारको आशंकाहरु छन् ।
आशंका होला, विदेशी शक्ति लागेहोलान्, तर बलात्कारीलाई संरक्षण त दिनुभएन नि ?
त्यसमा त विषयको विषय नै होइन ।
तपाईंहरुले त महरालाई संरक्षण गरिरहनुभएको छ नि ?
कुनै संरक्षण गरेको छैन । त्यलाई स्वतन्त्र ढंगले नेपालको राज्य संयन्त्रले छानविन गर्छ र दोषीउपर आवश्यक कारबाही हुन्छ । छानविनपछि दोषी ठहरिए कारबाही हुन्छ, निर्दोष भए छुटकारा हुन्छ । यो त कानुनी प्रक्रिया अनुसार सहज ढंगले हुनुपर्ने विषय हो । यसले स्याल पनि कराउनु, कुखुरा पनि हराउनु जस्तै भएको छ । विदेशी शक्ति अगाडि कुखुरा हराउनु र स्याल कराउनु एउटै भएकाले कतै षड्यन्त्र छ कि भनेको मात्रै हो ।
तपाईंकै पार्टीको सरकार छ यसमा के हेरेर बस्नुभएको छ त ?
कम्युनिस्ट पार्टीको बन्दैमा राज्यका संयन्त्रहरु छुमन्तर गरेर रुपान्तरण भइहाल्छन् भनेर सोच्न मिल्दैन । संवैधानिक प्रक्रियाअनुसार विगत समाजवादीको कालमा, वैदेशिक उपनिवेशको कालमा बनेका राज्यका संयन्त्रहरुलाई क्रमशः सुधारँदै लैजाने कुरा हो । अहिले तुरुन्तै सबै राज्य संयन्त्रहरु रुपान्तरित भइसकेको अवस्था होइन ।
सरकार आफ्नो हुँदा संरक्षण गर्न सक्नुहुन्न ?
पहिलो कुरा त गल्ली, कमीकमजोरीमा संरक्षण गर्ने विषय होइन । यसमा पीडित भनिएकी महिलाले के भन्छिन् भन्ने आधारमा हामीले छानविन प्रक्रिया अगाडि बढाउने हो । त्यसैले यसमा दुईजनालाई छानविन गर्ने, बुझ्ने हो, को दोषी, को निदोर्षी भन्ने विषयमा । दोषी ठहरिएकालाई कारबाही गर्ने निदोष ठहरिएकालाई लाड्ने यो राज्यको नियमित प्रक्रिया नै हो नि । यी प्रक्रियाहरु हुँदाहुँदै केही सञ्चार माध्यमहरुबाट जुन ढंगले प्रचारवाजीहरु भइराखेको छ, यसले चाहिं कतै षड्यन्त्र हो कि भन्ने थोरै आशंका जन्माएको छ ।
बलात्कारी, हत्यारा, यौन दूराचारीलाई त्यसैले छोड्न मिल्छ ?
यसमा बस र विवादको विषय नै होइन । यहाँ विवादको विषय के हो भने, एउटा त्यो प्रक्रिया ठीक ढंगले अगाडि बढेको छ कि छैन ? दोस्रो कुरा सहज ढंगले जसरी भनाइहरु बाहिर ल्याउँछन् । प्रश्नचिन्ह खडा हुने विषय भन्ने लाग्छ ।
कृष्णबहादुर महरा अहिले सांसद पदमा हुनुहुन्छ कि छोड्नुभयो ?
उहाँले सभामुख त रिजाइन गरिसक्नुभएको छ । सांसद् पदको सन्दर्भमा संवैधानिक र कानुनी व्यवस्था अनुसार नै हुन्छ । जसमा संविधान धारा १३० को उपधारा ६ को अनुसार फौजदारी अभियोगमा पक्राउ परेको छ भने त्यसको जानकारी संसदमा दिनुपर्छ । उक्त जानकारीपछि प्रतिनिधिसभाको नियमावली २४४ उपदफा ३ अनुसार बहालमा रहेको पद तत्कालका लागि खारेज हुन्छ । जुन छानविन कुरा टुंगोमा नआउँदासम्म । छानविन भएर नआउँदासम्म स्थगित हुन्छ ।
त्यसो भए अहिले स्थगित छ ?
उहाँको मुद्दा छानविन नभइसक्दासम्म स्थगित हुन्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्