Logo

अनुसन्धानमा ओहदा नहेर्न प्रहरीलाई निर्देशन



काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पद या दल विशेष हेरेर अपराध अनुसन्धान प्रभावित नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय नक्शालमा सम्बोधन गर्दै प्रहरीले पद, अनुहार या दलको वास्ता नगरी अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘प्रहरीले अनुसन्धान गर्दा ओहदा, कुन पदमा छ, कुन दलको हो वास्ता गर्न हुन्न,’ ओलीले भने, ‘कसैको दबाब मान्नुपर्दैन, कानुनबमोजिम गर्नुपर्छ ।’ प्रहरीलाई दबाब दिने दुष्प्रयास नगर्न समेत चेतावनी दिए । महिलामाथि जर्बजस्ती गरेको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि प्रहरी दिवसमा प्रधानमन्त्रीको उक्त भनाई आउनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रहरीलाई निर्भय र कसैको दबाबमा नपरी कानुन बमोजिम कार्य गर्न निर्देशन दिए । प्रहरीको काम कर्तव्यको उच्च कदर गर्दै खुलेर प्रशंशा गरे । अपराधलाई राजनीतिकरण गर्न खोज्ने, राजनीतिक दलबल देखाउने र छाविनलाई प्रभावित पार्न खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसबाट कत्तिपनि विचलित हुन नहुने बताए । उनले भने,’सत्य स्थापित हुन नसकेको भनेर प्रहरीलाई गाली गर्ने प्रवृत्ति छ ।’

देश तिव्र आर्थिक उन्नतिमा लागिरहँदा अनावश्यक गतिविधि गर्ने र हिंसाको बाटोमा लाग्नेहरु रहेको भन्दै त्यसको आलोचना गरे । उनले गलत मनशायका साथ, हिंसा त्रास मच्चाउनेहरुमाथि सून्य सहनशीलता अपनाउन निर्देशन दिए । File Photo



प्रतिक्रिया दिनुहोस्