Logo

प्रवासीको सहयोगमा आँखा उपचार केन्द्र



बागलुङ, २४ असोज : गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्र बन्ने भएको छ । रु ८५ लाखको लागतमा बन्ने केन्द्रको भवन एक वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

गलकोट आँखा उपचार केन्द्र स्थापनाका लागि समाजले गत वर्ष जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । शहीद थीरबम मल्ल पुस्तकालय परिसरमा केन्द्र स्थापना गर्न लागिएको समाजका अध्यक्ष दिलु खत्रीले बताए । तीनतले भवनको भुइँ तलामा केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहलसहित समाजको कार्यालय रहनेछ । नेपाल नेत्रज्योति सङ्घ, गलकोट नगरपालिकालगायत सरोकार भएका पक्षसँगको समन्वयमा समाजले केन्द्र स्थापनाको काम अघि बढाएको हो ।
केन्द्रको भवन निर्माणका लागि थीरबम पुस्तकालय व्यवस्थापनले निःशुल्क रुपमा जग्गा उपलब्ध गराएको छ । गलकोटमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनेपर्ने बाध्यता हट्ने भएको छ । जिल्लामा हाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र छ । समाजले केही वर्षअघि गलकोटमै राखेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका बिरामी बढी पाइएपछि उपचार केन्द्र स्थापनाको सोच बनेको समाजका अध्यक्ष खत्रीले बताए । “गलकोटमा आँखा उपचार केन्द्रको आवश्यकता महसुस भएपछि हामीले जापानमा सहयोग अभियान चलायौँ”, अध्यक्ष खत्रीले भने ।

गएको अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमको टिकटबाट सहयोग जुटेको थियो । गलकोटबाट जापान पुगेका अधिकांश उक्त सहयोग अभियानमा जोडिएका थिए । भवन निर्माणका लागि रु ७० लाख समाजले उपलब्ध गराउने र बाँकी रकम अन्य स्रोतबाट जुटाइने वडा नं ५ का अध्यक्ष नारायणध्वज मल्लले बताए ।

समाजले थप बजेट व्यवस्थापनका लागि आउँदो अङ्गे्रजी नयाँ वर्षमा पनि सहयोग अभियान चलाउने योजना बनाएको छ । समाजले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई केही वर्षअघि लाखौँ मूल्य पर्ने स्वास्थ्य उपकरण प्रदान गरेको थियो । समाजद्वारा निर्माण हुन लागेको आँखा उपचार केन्द्रको शिलान्यास तथा गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमामा निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन यही साता गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गरेका थिए ।

रासस



प्रतिक्रिया दिनुहोस्