Logo

विद्यालय निर्माणका लागि पूर्वविद्यार्थीको सहयोग



म्याग्दी, २४ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग विद्यालयलाई पूर्वविद्यार्थीको पहलमा करीब रु ५२ लाख सहयोग प्राप्त भएको छ । जर्मनीमा रहेका पूर्वविद्यार्थी देव खड्का र काठमाडौँका प्रशान्तमोहन रेग्मीको पहलमा विद्यालयको भवन निर्माणका लागि उक्त सहयोग भित्रिएको हो ।

जर्मनीको इस्टर्न नेपालले रु २४ लाख ६३ हजार र हिमालयन फ्रेन्ड्स इ.भी जर्मनीले रु १६ लाख ७७ हजार ५०० सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मेखबहादुर खड्काले बताउनुभयो । बाह्रकोठे भवन निर्माणका लागि देव खड्काका बुबा टीकाबहादुरले विद्यालयलाई रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरीद गरेर उपलब्ध गराएका थिए ।

कूल रु एक करोड ५४ लाख ८६ हजार ११९ को लागतमा भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री तीनतले भवन र चारकोठे शौचालय निर्माण भएको निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले बताए । तत्कालीन जिल्ला शिक्षा कार्यालयको रु ६० लाख, अन्नपूर्ण गाउँपालिकाको रु १० लाख, तत्कालीन घार गाविसको रु पाँच लाख र महायज्ञबाट सङ्कलित रु पाँच लाखको सहयोगमा भवन निर्माण भएको प्रअ खड्काले बताए ।

भवन परिसरमा घार युवा क्लबले रु आठ लाख खर्चेर स्टेज र प्याराफिट निर्माण गरेको छ । स्थानीय समाजसेवी कृष्णबहादुर खड्काले जग्गा खरीदका क्रममा रु एक लाख ७५ हजार छुट दिएका थिए । निर्माण व्यवसायी कृष्णप्रसाद बरुवालले दुई लाख बराबरको योगदान गरेका थिए ।

मोना जापानले रु ७५ हजार, घार खिवाङ सेवा समाज कतारले रु ६३ हजार ६१४, घार घर भई हाल जापानमा रहेका दधिवल खड्काले रु ५० हजार, संरक्षण व्यवस्थापन समितिले रु ४५ हजार, बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार, घार समाज कुवेतले रु ३२ हजार, प्रशान्तमोहन रेग्मीले रु २५ हजार १११ सहयोग गरेका थिए ।

विद्यालयको पुरानो कच्ची भवन २०७२ को भूकम्पबाट जीर्ण बनेको थियो । चार वर्षमा नयाँ भवन तयार भएपछि पठनपाठन सहज भएको विद्यार्थीले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्