Logo

‘चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालले एउटा नयाँ मोड लिन्छ, म उत्साहित छु’ : सुजाता कोइराला (भिडियोसहित)



काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्,‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा उनले सी भारत हुँदै नेपाल आउन लागेको बताईन् । उनले भनिन्,‘चिनियाँ राष्ट्रपति यतिवेला भारतमा हुनुहुन्छ, मोदीसँग उहाँको कुराकानी भैरहेको छ । सी र मोदीबीच राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाईदा हुन्छ । यसले नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गिरिजा प्रसाद कोइरालाले भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई हित र राम्रो हुन्छ भन्ने गरेको सुनाउँदै भनिन्,‘गिरिजाबाबु भन्नुहुन्थ्यो भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ भन्नुहुन्थ्यो । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । एशियालाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ । मेरो त त्यो वार्ताको बारेमा पनि उत्सुकता छ ।’

उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउनु धेरै रम्रो भएको बताउँदै विपीको पालादेखि चीनसँग मित्रता भएको सुनाईन् । उनले भनिन्,‘चीनलाई हामीले बढि महत्वको साथ हेरेका छौं । हाम्रो राम्रो सम्बन्ध रहँदै आयो । चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको छ । हरेक नेपालीहरुको मुखमा अहिले दशैं छ, ठूलो चाडपर्व छ । तर, उनीहरुले अब नेपाल विकास हुन्छ भनिरहेका छन् । उनीहरु अहिले केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले अब एउटा ठूलो फड्को मार्छ । अब विकास हुन्छ । स्थायित्व र शान्ति आउँछ भन्ने कुरा नेपालीको मनमा रैछ । यो उत्साहजनक कुरा हो ।’

सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालीहरुले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने संकेत भएको पनि नेतृ कोइरालाको टिप्पणी छ । उनले भनिन्,‘ जनताले चाहेको नै विकास हो । स्थायित्व र शान्तिले नै देशमा विकास हुन्छ । सीको भ्रमणबाट नेपालले केही पाएपनि वा नपाएपनि उहाँ नेपाल आउनुनै एउटा महत्वपूर्ण कुरा हो । हामी सबै पूराना तिता कुराहरु बिर्सिएर विकासको कुरामा मात्रै लागिरहेका छौं । यो नै एउटा ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ । एउटा नयाँ बाटोमा हामी हिँड्न लागेका छौं । देशले एउटा नयाँ मोड लिन्छ भनेर म उत्साहित छु ।’

गिरिजाबाबुले जहिल्यैपनि ‘एक चीन नीति’ लाई नै समर्थन गर्दै आएको सुनाउँदै कोइरालाले भनिन्,‘उहाँ प्रधानमन्त्री हुँद्या स्टेट भिजिटमा जानुभयो । पार्टीको सभापति हुँदापनि उहाँ पार्टी–पार्टी सम्बन्ध बनाउनको लागि दुई चोटी प्रतिनिधिमण्डल लिएर चीन जानुभयो । एकचोटी उहाँसँग म पनि गएको थिएँ । छिमेकीसँग पिपुल–टु–पिपुल रिलेशनपनि हुन्छ । पार्टी–टु–पार्टी रिलेशनपनि हुन्छ । यसलाई गलत हिसाबले हामीले सोच्नुहुँदैन् । गिरिजाबाबुले सिपिसी पार्टीलाई नेपालमा आमन्त्रित गर्नुभएको थियो । उनीहरु पनि नेपाल आएका थिए । यो गर्नुपर्छ । हामीले पनि यसलाई निरन्तरता दिन्छौं ।’

उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताईन् । उनले भनिन्,‘ट्रेन, कनेक्टिभिटी भनेको यसको धेरै महत्व छ । पूर्वाधार विकासको लागि बाटो हो । विकासको पूर्वाधार नै बाटो हो । सुरुमा मलाई पनि ट्रेनको कुरा गर्दा अर्के लाग्दथ्यो, तर धेरै अध्ययन गरेपछि ट्रेन चाहिन्छ भन्ने निश्कर्षमा म पनि पुगेको छु । भारतबाट र चीनबाट पनि काठमाठौं ट्रेन आउँछ । यो भयो भने दुवै देशबाट नेपालमा लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । उनीहरुलाई नेपाल आवागमनमा सहजता हुन्छ । यो आवश्यकत्ता छ । सुरुवात हुन्छ भनेको सुन्छु । हामी स्वागत गर्छौं ।’

चीनसँग नाका खोल्ने कुरापनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको उनको जिकिर छ । उनले भनिन्,‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो । चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो । चीन बलियो भएको छ । अहिले नाका खोल्नेबारे महत्व दिएको छ । परिस्थिति परिवर्तन भएको छ । नाका खुल्छ । यो खुशीको कुरा हो ।’ चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ । उनले थपिन्,‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं । लगानी ल्याउन सक्छौं ।’

त्यस्तै, उनले रेलवे ल्याउने कुरामा पनि सबै कुरामा नेपालले अनुदानमात्रै खोज्न नहुने तर्क गरिन् । उनले भनिन्,‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामी नेपालीहरुको बानी बिग्रिएको छ । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होईन । निःशुल्क देउ भन्नुहुँदैन् । हामीले ऋण लिनुपर्छ । सहुलियत व्याजमा ऋण पाउनुपर्छ । रेल होस वा अरु कुनै परियोजना बनाउँदा त्यसमा हामीले आफ्नो अपनत्व लिनुपर्छ । सस्तो व्याजमा ऋण लिनुपर्छ । नेपाल सार्वभौम र स्वतन्त्र देश हो । हामीले थोरै भएपनि ईनपुट दिनुपर्छ, त्यसो गर्न सकियो भने कसैको दास भएको हुँदैन् । नेपालीले बनाएको हो । यो रेल हाम्रो हो भन्ने भावना हुन्छ । आत्मसम्मान हुन्छ । केही थोरै भएपनि हाम्रो ईनपुट दिनुपर्छ ।’

नेतृ कोइरालाले चीनबाट लगानी ल्याउनु्पर्नेमा जोड दिईन् । उनले नेपाल विपत्तमा पर्दा पनि चीनले ठूलो सहयोग गरेको सुनाईन् । उनले भनिन्,‘भुकम्प, बाढी, पहिरोले नेपालले धेरै दुःख पायो । प्रकृतिले पनि हामीलाई सहयोग गरेन् । चीनमा प्रविधि एकदम आधुनिक छ । उनीहरुले नयाँ नयाँ आविष्कार गरेका छन् । बाटो चाँडो र बलियो बनाउने उनीहरुको प्रविधि छ । हाम्रा ठेकेदारलाई पनि तालिम दिनुपर्छ । चीनबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्