Logo

अध्यक्षमा कुमार पन्तलाई शेष घले र भवन भट्टको समर्थन



काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन यही असोज २८ गतेदेखि सुरु हुँदैछ । संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् छ । तर, संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले भने खुलेरै पन्तलाई अध्यक्षमा सघाउने निश्कर्ष निकालेका छन् । सूत्रले दिएको जानकारीअनुसार संघको नेतृत्व सर्वसम्मतीले चयन गर्नुपर्नेमा पूर्व अध्यक्षहरु पुगेका छन् । यदि, सहमति कायम नभए निर्वाचनमा पन्तलाई सघाउने उनीहरुको योजना छ ।

यसअघि पूर्व अध्यक्ष घले र देवमान हिराचनको साथ भने यो पटक अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई हुने प्रक्षेपण गरिएको थियो । तर, महाधिवेशनको पूर्वसन्ध्यामा पूर्व अध्यक्षहरुबीच पन्तलाई नै संघको नेतृत्वमा ल्याउने समझादारी बनेको छ । पूर्वअध्यक्षहरु नै खुलेरै पन्तको पक्षमा उभिएपछि अध्यक्षका अर्का प्रत्यासी आचार्यले उम्मेद्धवारी फिर्ता लिनसक्नेबारेपनि संघका अभियन्ताहरुले अनुमान लगाउन थालेका छन् ।

पन्तको पूर्व अध्यक्षहरुसँग अत्यन्तै घनिष्ठ सम्बन्ध रहँदै आएको छ । पूर्व अध्यक्ष लामिछाने त पन्तका व्यापारिक साझेदारी नै हुन् । संस्थापक अध्यक्ष एवम् वर्तमान प्रमुख संरक्षक डा. उपेन्द्र महतोले पनि पन्तलाई नै रुचाएका छन् । पूर्व अध्यक्ष घलेको कार्यकालमा पनि पन्तले उपाध्यक्षको रुपमा राम्रो भूमिका निर्वाह गरेकोले घलेले पनि उनलाइ संघको नेतृत्व बनाउँदा हित हुने देखेका छन् । वर्तमान अध्यक्ष भट्टलाई अध्यक्ष बनाउनमा पन्तको ठूलो भूमिका थियो । आठौं महाधिवेशनमा पन्तले आफू पनि अध्यक्षको उम्मेद्धवारी दाबी गरेका थिए । तर, पूर्व अध्यक्षद्धय महतो र लामिछानेको सल्लाअनुसार उनले त्यतिवेला भट्टलाई सघाएका थिए । स्रोतकाअनुसार ८ औं महाधिवेशनमा भट्ट र पन्तबीच नवौं महाधिवेशनमा पन्तलाई अध्यक्ष बनाउनेबारे भद्र सहमति बनेको थियो । सोहीअनुसार भट्टले यो पटक पन्तलाई नै सघाउने निश्चित् छ ।

उता, पन्तले पूर्व अध्यक्ष शेष घलेको भिजन–२०२० एण्ड बियोन्डको एजेण्डा नै अबको एनआरएनको मुद्दा हुने बताएर आफूलाई घलेको पनि साथ र समर्थन रहेको कुरा यसअघि नै बताईसकेका छन् । उनले सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन्,‘कतिपय साथीहरुले मलाई अब एनआरएनको मुद्दा के हुन्छ भन्नुहुन्छ ? मेरो वा अरु साथीको मुद्दा भन्ने केही छैन, भिजन २०२० नै अबको मुद्दा हो’ एनआरएन युकेको नवौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पन्तले भने, ‘ भिजन २०२० मा सबै विषय समेटिएका छन् । त्यसैलाई कार्यान्वयन गरेर अघि बढिनुपर्छ ।’ मध्यपूर्व, एसिया प्यासिफिक, युरोप अमेरिकालगायतका क्षेत्रमा ठाउँअनुसार फरक फरक चासो र एजेण्डा रहेका भएपनि ती सबै विषयलाई भिजन २०२० ले नै सम्बोधन गर्न सक्ने पन्तको दाबी छ।

गैर-आवासीय नेपाली आन्दोलनको भावी कार्यदिशा तय गर्न र नयाँ नेतृत्व चयन गर्न अधिकांश गैरआवासीय नेपालीहरु काठमाडौंमा भेला भैसकेका छन् भने केही भेला हुँदैछन्। एनआरएनएको नवौं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म चल्नेछ । विश्वका ८० मुलुकमा बसोबास गर्ने ८० लाख नेपालीको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेद्वारी दिएका छन् ।

Related News:

कुमार पन्तद्धारा एनआरएनएको अध्यक्षमा उम्मेद्धवारी घोषणा (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्