Logo

भारतबाट रेल आउन चाहिं हुने चीनबाट ल्याउन खोज्दा किन हच्किनुपर्ने ? भीम रावल



काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता भीम रावल राजनीतिशास्त्रमा गहिरो अध्ययन गर्दै आएका छन् । लामो राजनीतिक अनुभव सँगालेका रावलसँग चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको विशेष कुराकानीः

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सफल र फलदायी बनाउन सरकारले कस्तो गृहकार्य गरिरहेको छ ?
सरकारको तर्पmबाट हिजो मात्रै प्रधानमन्त्रीको आयोजनामा छलफल भएको थियो । त्यसमा नेपाल र चीनको सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउने र आपसी विश्वास र सद्भावलाई गहन बनाउने कुरामा सबैको जोड थियो । त्यही दिशामा नेपाल र चीनको सम्बन्ध अगाडि बढ्नुपर्छ ।
के केमा सम्झौता हुँदैछ, तपाईंलाई पनि थाहा होला नि ?
सम्झौता हुने त्यस्तो विस्तृत कुरा मलाई थाहा छैन । तर, परराष्ट्रमन्त्रीले जानकारी गराउनु भए अनुसार रेलमार्ग, सडकमार्ग, ऊर्जा, प्रविधि जस्ता क्षेत्रमा सहयोग आदनप्रदान हुन सक्ने र विशेष रुपले चीनको सहयोग रहने छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको लागि राष्ट्रिय सहमित भएको छ होइन ?
कुनैपनि देशको शीर्ष नेता आउँदा हामी सबैले स्वागत गर्नुपर्छ भनेका छौं । कुटनीतिकस्तरमा उच्चतहको भ्रमणहरु आदानप्रदान हुनुपर्छ । मूलतः नेपालको संविधानअनुसार निर्देशित सिद्धान्त अनुरुप आफ्ना राष्ट्रिय हितलाई सर्वोपरी राखेर, आफ्नो स्वाभिमान, स्वाधिनतालाई सुदृढ बनाउने गरी अगाडि जाने हो । त्यसमा कसैको विमति हुनुपर्ने कुरै छैन ।
अब चीनले दिल खोलेर नेपाललाई सहयोग गर्न तयार भएको हो ?
उत्तरी छिमेकी राष्ट्र, जसले विज्ञानप्रविधि र विकास परियोजना हासिल गरेको छ । छिमेकीको नाताबाट त्यसबाट लाभ लिने र चीनले पनि त्यस्ता सहयोगहरु विगतदेखि गर्दै आएको छ । त्यसलाई निरन्तरता मात्रै होइन, अझ उच्चतहमा पु¥याउनु राम्रो कुरा हो । हामीले भारतसँग पनि त्यही तहमा जाऔं भनेकै छौं । तर, यहाँ मूलरुपमा लिनुपर्ने कुरा के छ भने जुन संवेदनशील भू–राजनीतिक अवस्थामा हामी छौं । हामीले हाम्रो हितमा चीन, भारत, अमेरिकालगायत सबैसँग त्यो सम्बन्ध अगाडि बढाउनुपर्छ । स्वाधिनता, स्वतन्त्रता जुन पञ्चशील सिद्धान्तमा आधारित भनेर अगाडि संविधानमा भनेका छौं । त्यसैअनुरुप अगाडि जानुपर्छ । जहाँसम्म नेपाललाई चिनियाँ सद्भाव व्यक्त हुने कुरा छ । त्यो हाम्रो लागि राम्रो कुरा हो । किन भने चीनको विकास अफ्रिका, ल्याटिन अमेरिकाले लाभ लिएका छन् भने, हामी छिमेकी भएर त्यसको यथोचित लाभ लिन नसक्नु त हाम्रो कमजोरी हुन्छ ।
तपाईंहरुले केरुङ–काठमाडौं रल ल्याउने भनिरहँदा त्यसमा समय धेरै लाग्छ भन्ने विज्ञको भनाइ छ, त्यसमा सहमति कसरी गर्नुहुन्छ ?
यसमा पहिलो कुरा चीनले अगाडि सारेको जुन बेल्ट एण्ड रोड (बीआरआई) कुनै सामरिक परियोजना होइन । यो व्यापारसँग सम्बन्धित छ, पहिला सिल्क रोड भन्ने थियो । त्यसमा नेपाल सडकसञ्जाल लगायतका विषयमा आवद्ध भएर फाइदा लिने कुरा अनुचित होइन । त्यो सरकारको पालामा होइन पहिलाको सरकारको पालामा भएको हस्ताक्षरको आधार अगाडि बढ्छ होला यो कुरा । दोस्रो रेलमार्ग आवश्यक छ कि छैन भन्ने कुरा छ, यसमा कतिपय मान्छे के सोचेका छन् भने यो भोलि नै भइहाल्छ । यसको लागि त लामो समय लाग्छ नि । अब हामी भारतका प्रत्येक सिमानामा जोडेर चाहिं नेपाल रेल ल्याउने, हामी त्यहाँबाट पानी जहाज ल्याउने कुरा पनि गर्ने, रक्सौल काठमाडौं रेल चलाउने कुरा पनि गर्ने अनि चीनसँग सडक सञ्जाल, रेल सञ्जालसँग हच्किनुपर्ने कारण के छ ? नेपाल अहिले आफ्नो राजनीतिक, आर्थिक, व्यापारिक सम्बन्धलाई अन्य मुलुकसँग विविधिकरण गर्नुपर्छ । जतिसक्दो उत्पादन बढाएर धेरैभन्दा धेरै देशसँग आफ्नो व्यापारिक सम्बन्ध कायम गर्नुपर्छ । चीनबाट आउने रेललाई कति मान्छेले भनेका छन्, हामी के हालेर पठाउँछौं त्यो रेलमा भनेर अनि भारतबाट आएको रेलमा चाहिं हामीले के पठाउँछौं त ? त्यस्तो तर्क गरेर हुँदैन नि ।
ऋणमा चाहिं रेल ल्याउनुहुँदैन भनेर शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले सुझाव दिनुभएको होइन ?
आजसम्म नेपाली जनताको टाउकोमा परेको ऋण कहाँ–कहाँ गएको छ, किन लिएको ? हामीले ऋण लिनेनलिने कुरा पहिला राष्ट्रिय हितमा छ कि छैन भनेर हेर्नुपर्छ । रेलमार्गमा पनि चीनले कति ऋण दिने हो, त्यो ऋण हामी तिर्न सक्छौं कि सक्दैनौ सबै कुराको मूल्यांकन गरेर अगाडि बढ्नुपर्छ । तर, एउटा छिमेकीसँग चाहीं रेल पनि ल्याउने अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानालाई नियमन गर्नुपर्छ भन्दा पनि हुन्छ भन्ने, अर्को छिमेकीसँग चाहिं रेलबाट व्यापार गर्छु भन्दा पनि विरोध गर्नुपर्ने यो त जुन हाम्रो परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तसँग मेल खाँदैन । त्यसले जुन रेल ल्याउने कुरा त्यो ५, १० वर्षमै फ्याट्ट बन्ने होइन नि । आजको नेपाल २० वर्षपछि पनि कुनै उत्पादनै नगरी त्यतिकै बसिरहन्छ भनेर कल्पनामा बसिरहने ?
चीनले लगानी गरेका अन्य मुलुकमा पनि संकट आएको छ नि ?
त्यहाँ चीनको लगानीले संकट आएको होइन । जति मुलुकहरु अन्तर्राष्ट्रिय ऋणले संकटमा परेका मुलुकहरु पहिल्यै परिसकेका हुन् । उनीहरुले ऋणले लिएर तर, त्यसलाई उत्पादन क्षेत्रमा लगाएनन् । जसले गर्दा ऋण तिर्न गाह्रो परेको हो । काम गर्न राम्रो ढंग पु¥याएन भने चीन, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक जोसँग लिएपनि त्यही हो । त्यसकारण हामी जुन ऋण दिँदा किन अनुदानमा लिनुपर्यो, दोस्रो ऋण लिएपछि उत्पादनमा सुरक्षित भएको क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसले आर्थिक उत्पादन र राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउनुपर्छ । त्यसै ल्यायौं भने हामीले त्यसको मुल्य चुकाउन पनि सक्छौं ।
लगानीमा कस्तो मोडालिटी बनाउँदै हुनुहुन्छ ?
हिजो परराष्ट्रमन्त्रीले संकेत गरेअनुसार तीनवटा तत्वहरु मिसाउनुभएको छ । त्यसमा केही अनुदान, केही ऋण र केहीमा नेपालको लगानी पनि हुन्छ । त्यो मोडालिटीमा गयौं भने हामीले त्यो ऋण त ५, ६ वर्षमा आइहाल्ने तरिहाल्नुपर्ने होइन । त्यसको सम्भावित अध्ययन गर्नुपर्छ, अरु प्राविधिक अध्ययन बाँकी छन् । अर्को कुरा जस्तो कोदारी राजमार्ग, रसुवागढी राजमार्ग छन् तिनमा पनि बाह्रैमास यातायात सञ्चालन हुने गरी प्राथमिकतामा राखेका छौं ।
पराष्ट्रमन्त्रीले प्रस्ताव राख्नुभएको तर नेपाली कांग्रेसले त मानेको छैन नि ?
नेपाली कांग्रेसले किन नमान्ने ? ल भैगो नेपालले चीनसँग रेलमार्ग जोड्दैन भनेर नीति बनाओसन् त । कांग्रेसले त्यो भन्न सक्छ ? एउटा देशसँग रेलका चुच्चा र चुच्ची जोडेर अगाडि बढाउने, अर्कोसँग रेलले जोड्नुहुँदैन भन्ने कुनै तर्क हुृन्छ ? त्यसो भन्न मिल्छ ? हामीले सबै देशसँग जोड्ने हो ।
कांग्रेसको भनाइ त भारत र चीन दुवैतिरबाट रेल ल्याउने तर ऋणमा होइन, अनुदानामा के भन्नुहुन्छ ?
अनुदानमा त हामीले पनि भनेका छौं, त्यो गर्नुपर्छ । भारतसँग पनि र चीनसँग पनि दुईतिर गर्नुपर्छ । विद्युत् उत्पादनका कुरा छन्, तल आयात गर्ने कुरामा एउटै देशसँग किन भर पर्ने ? नेपालको हितमा छ त्यो ? यो कुनै भारत विरोधी कुरा पनि होइन । अरु देशले सबैतिरबाट ल्याउनु हुने अनि नेपालले चाहीं एउटै देशको भर परेर नावौं उपनिवेसिक ढाँचामा चलेर हुन्छ ? हुँदैन नि । यो कुनै देशको विरोध होइन । रेल, तेल, कुटनीति सबै कुरामा विविधिकरण गरेर हाम्रो स्वाधिनतालाई बलियो बनाउने कुरामा विविधिकरण गर्नुपर्छ । कि हामीले पूर्व–पश्चिम, उत्तर–दक्षिण कहींबाट रेल नल्याउने, सडकसञ्जाल मात्रै राम्रो बनाऊ । होइन भने सबैसँग जोडेर जानुपर्छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल हुन्छ ?
यत्रो भ्रमण असफल हुने गरी कसले काम गर्छ र, त्यो सफल भइहाल्छ नि । यो सफलता र असफलताको डिग्री जहिले पनि हामीले के गर्न खोजेका थियौं, त्यसमा सफल भयौं कि भएन भनेर पछि मूल्यांकन गर्ने कुरा हो । त्यति ठूलो विकसित मुलुक राष्ट्रपति त्यो पनि लामो समयपछि आउन लाग्नुभएको छ । त्यो हामी सबैले पूर्णरुपमा सफल बनाउनुपर्छ । यसले नेपाललाई राजनीतिक, आर्थिक, सामाजिक र कुटनीतिक हिसाले पनि गौरवको विषय बनाएको छ । यस्तो कुरामा असफल बनाउनुपर्छ भन्ने कस्को मनाशाय होला र ? File Photo



प्रतिक्रिया दिनुहोस्