Logo

सात वर्ष गाउँमा कृषि मजदूरी गरेका सी जिङपिङको राजनीतिमा उदय



रिपोर्टर्स नेपाल विशेषः जब उनी १५ वर्षका थिए तब गाउँ जानु पर्यो । बेइजिङ शहरमा जन्मिएका सी जिनपिङका लागि त्यो एउटा कठिन समय थियो । तर, त्यही कठिनाईले उनलाई चीनको भावी राष्ट्रपति बन्ने ऊर्जा र मार्गचित्र दुवै दियो । सात वर्षको गाउँ बसाईंले उनको भविष्यलाई नयाँ आकार दिइसकेको थियो ।

चीनको उपप्रधानमन्त्री समेत रहेका उनका पिता सी जोङसुन सन् १९६२ मा कारबाहीमा परे । शक्तिशाली पिता कमजोर बनाइए । नौ वर्षका सी कारबाहीमा परेकाहरुको सन्तान राख्ने स्थानमा राखिए । सी जिनपिङको जीवनमा कठिन मोड आयो । तर, त्यही मोडले उनलाई ऊर्जा दियो । उनले भनेका छन् -मैंले गाउँबाट धेरै सिक्ने मौका पाएँ । उनी गाउँमा कृषि मजदूरका रुपमा काम गरे जहाँबाट राजनीतिक यात्रा समेत शुरु गरे ।

सीले सात वर्ष गाउँ बसाईंलाई जीवनकै गौरवशाली क्षण मान्ने गरेका छन् । चीनमा भएको सांस्कृतिक दौरानमा धेरै चिनियाँहरुमाथि कडा नीति लिइएको थियो । त्यसमध्ये सी पनि थिए । तर, उनले त्यही चुनौतीलाई अवसरमा परिणत गरे ।

१५ जुन १९५३ जन्मिएका सी ले चीनको राजनीतिमा आएको कठिन मोड देखि आर्थिक प्रगतिको आधार समयलाई नजिकबाट नियाल्ने मौका पाए । शहरमा जन्मिएपनि गाउँको रहनसहन र जीवनको अनुभव सँगाले । जीवनको उर्वर सात वर्ष गाउँमा बसेर कृषि मजदूर बनेका सीले त्यहींबाट पाएको जीवन जीउने शिक्षादिक्षाले आफूलाई परिपक्व बनाउन सके ।

निकै मिहेनत र असफलतापछि सीले सन् १९७४ मा बल्ल चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता पाए । उनले रसायन इन्जिनियरिङ अध्ययन गरे । बेइजिङको सिंघुवा विश्वविद्यालयबाट सन् १९७९ मा अध्ययन पूरा गरे । त्यसपछि उनले निरन्तर प्रगति हासिल गर्न सके ।

कम बोल्ने र धेरै काम गर्ने स्वभावका सीले १९७९ देखि १९८२ सम्म केन्द्रीय सैन्य कमाण्डमा उपमन्त्रीको भूमिका पाए । त्यहाँ सैन्य अनुभव हासिल गरे । त्यही समयमा उनले चीनका लागि तत्कालिन बेलायती राजदूतकी छोरी की लिङलिङसँग विवाह गरेका थिए । तर केही वर्षमा उनको सम्बन्ध विच्छेद भयो ।

१९८३ देखि २००७ सम्म विभिन्न प्रान्तहरुको नेतृत्व लिए । हुबेमा उनको नेतृत्व महत्वपूर्ण सावित भयो । फुजियानको सियामेनमा उपमेयर बने । त्यही समय उनले लोकगायिका पेङ लियुयानसँग विवाह गरे ।

उनी फुजियान प्रान्तका गर्भनर भए । सन् २००७ मा महत्वपूर्ण क्षण आयो जसले सीलाई पार्टीमा उदय गरायो । चीनको उपराष्ट्रपति बनाइएका उनी पोलिटब्युरो सदस्य समेत भए । २००८ मा उनी ओलम्पिक आयोजक कमिटिको कार्यकारी बने ।

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भए । उनी सोही वर्ष चीनको राष्ट्रपति बने । सन् २०१८ मा कम्युनिष्ट पार्टीको विधान परिवर्तन गरी सी अनिश्चितकालसम्मका लागि राष्ट्रपति बन्ने विधान पारित भयो । यसरी सी माओत्से तुङ र देङ स्याओपिङ पछि चीनका शक्तिशाली नेता बन्न सके ।-एजेन्सीको सहयोगमा Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्