Logo

‘माइनर’ शल्यक्रियाको सेवा



रत्ननगर, २५ असोज : माडी नगरपालिकाको एकमात्र अस्पताल बघौडा अस्पतालले ‘माइनर’ शल्यक्रियाको सेवा शुरु गरेको छ । कूल १५ श्ययाको बिरामी भर्ना सुविधासहित सेवा शुरु भएपछि शल्यक्रियाका लागि भरतपुर जानुपर्ने बाध्यता हटेको छ ।

विसं २०७० को मन्त्रिपरिषद्को निर्णयले उपस्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालको रुपमा विकास गरेको थियो । अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभावले गर्दा सेवा प्रदान गर्न सकेको थिएन । लामो समयसम्म अस्पतालले हाडजोर्नीको प्लाष्टर र साधारण सुत्केरी गराउने गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आलोक कुमारका अनुसार साधारण शल्यक्रियाका सबै र मुख्य शल्यक्रियाअन्तर्गत सुत्केरी सेवा दिइने छ ।

अस्पतालमा विशिष्टकृत चिकित्सक, स्टाफ नर्स, प्यारामेडिक्स, अहेबसहित ३९ स्वास्थ्यकर्मी छन् । माडी नगरपालिकाको पहलमा अस्पतालमा आवश्यक सामग्री खरीद गरी औपचारिकरुपमा सेवा शुरु गरिएको हो । हाल दैनिक २०० बिरामीको स्वास्थ्य जाँच तथा उपचार र मासिक ३० जना सुत्केरी हुने गरेको मेसु डा कुमारले जानकारी दिए । बिरामीको चापलाई मध्यनगर राख्दै अस्पताललाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न केन्द्रीय सरकारसँग माग गरिएको उनले बताए ।

करीब ४३ हजार जनसङ्ख्या रहेको माडीमा सामान्य उपचारबाहेक विशिष्टकृत सेवाका लागि भारत र सदरमुकाम भरतपुर जानुपर्ने अवस्था थियो । माडीमै शल्यक्रियाको सेवा प्रारम्भ भएपछि माडीवासी खुशी भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्