Logo

यी हुन् चिनियाँ राष्ट्रपति सीको उपचारमा खटिने नेपाली चिकित्सक



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने राजकीय भ्रमणको लागि आज अपरान्ह चार बजेर ५५ मिनेटमा काठमाडौं ओर्लिने कार्यक्रम छ । उनको भ्रमणको क्रममा स्वास्थ्यअवस्थालाई मध्यनजर गर्दै चिकित्सकपनि खटाईएको छ । राष्ट्रपति सीका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि खटिएका छन् ।

उनको सवारी कार्गेटमा नेपाली सेना र नर्भिक इन्टरनेशनल हस्पिटलको गरी दुईवटा एम्बुलेन्स प्रयोग हुँदैछ । नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट राष्ट्रपति सीको डाक्टरको रुपमा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर शिवजी विक्रम सिलवाल खटिएका छन् । चीनमै छात्रावृत्तिमा एमबीबीएस र एमडी गरेका सिलवाल नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का नीजि चिकित्कस पनि हुन् ।

सी नेपालमा रहने अवधिभर डाक्टर सिलवाल नेतृत्वको नर्भिक इन्टरनेशनलको टिम साथमै रहनेछ । सीको कार्गेटमा सवार नेपाली सेनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम भने खुलाइएको छैन । सीको स्वास्थ्यमा कुनै समस्या आए काठमाडौंस्थित् छाउनीमा रहेको नेपाली सेनाको हस्पिटल र थापाथलीस्थित् नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्ने तयारी छ । सीको साथमा चिनियाँ चिकित्सकहरुको टोली पनि छ ।



प्रतिक्रिया दिनुहोस्