Logo

नेपाल मामलामा चीनको चुनौतीपछि इन्डो प्यासिफिक नीतिबारे अमेरिका बोल्यो



काठमाडौं, २५ असोज । चीनले इन्डोप्यासिफिक नीतिलाई खोक्रो गफको संज्ञा दिदै चुनौती दिएपछि अमेरिका बोलेको छ । नेपाल मामलामा इन्डो प्यासिफिक नीतिप्रति सत्तारुढ दलका नेताहरुबारे चर्को आलोचनासँगै चीनले समेत चुनौती दिएपछि अमेरिका बोलेको हो ।

नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले शुक्रबार ट्वीटमा भिडियो राखेर इन्डो प्यासिफिक नीति यस क्षेत्रमा आर्थिक, सुरक्षा र विधिको शासनमा अमेरिकाको वृहत्तर दृष्टिकोण भएको बताए । उनले भने, ‘यो नीतिले यस क्षेत्र विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशाशित रहन्छ भन्ने सुनिश्चित गर्नमा हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ ।’

चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनक गर्ने पत्रिका ग्लोबल टाइम्समा अमेरिकाले रणनीतिक प्रभाव बनाउन एशिया प्यासिफिक क्षेत्रमा आवद्धताको नीति बनाएको विषय बाहिर आएकोतर्फ संकेत गर्दै उनले इन्डो प्यासिफिक कुनै क्लब नभएको र हस्ताक्षर गर्नुपर्ने कागजान नभएको बताए । उनले भने, ‘नेपालले यसमा नेपालले सहमति जनाउनुपर्ने वा सामेल हुनुपने केही छैन ।’ उनले यो कसैलाई बहिष्कार गर्न बनाइएको नीति नभएको बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा अमेरिकाको इन्डोप्यासिफिक नीतिमा सार्वजनिक धारणालाई अर्थपूर्ण मानिएको छ । भिडियोमा बेरीले बोल्नेबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिकी नेताहरुसँगको भेट, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिकी विदेशमन्त्री माइक पम्पिओसँगको भेटका अलावा अमेरिकाले नेपालमा गरेको सहयोगका कामहरु समेत समावेश छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले इन्डो प्यासिफिक नीतिप्रति कडा धारणा बनाएको खुलिसकेको छ । प्रचण्ड निकट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले इन्डो प्यासिफिक अमेरिकालगायत पश्चिमाहरुले चीनलाई घेर्ने रणनीति अन्र्तगत ल्याएको आरोप लगाएका छन् । गुरुङले नेपालमा सैन्य अखडा बनाएर युद्धको वातावरण बनाउन खोजेको सम्मको आरोप लगाएका थिए ।

File Photo



प्रतिक्रिया दिनुहोस्