Logo

प्रथम छेडेदह महोत्सव शुरु



बाजुरा, २६ असोज : जिल्लामा प्रथम छेडेदह पर्यटन महोत्सव आजदेखि शुरु भएको छ । विजयादशमी तथा शुभ दीपावलीको अवसरमा स्थानीयस्तरमा उत्पादित चिजवस्तुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले जयमालिका यातायात प्रालिले सो महोत्सव आयोजना गरेको हो । पुराना लोपोन्मुख लोकसंस्कृतिक कला साहित्यको जगेर्ना गर्ने र जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी प्रमुख गन्तव्यस्थल बनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको उक्त संस्थाका अध्यक्ष प्रेमनाथ योगीले बताए ।

महोत्सव सञ्चालनका लागि करिब रू २८ लाख ३० हजार खर्च हुने र रू २९ लाख ८३ हजार बराबरको आम्दानी हुने अनुमान गरिएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालको संरक्षणमा राज्यको आँखा नपरेका कारण पनि महोत्सव आयोजना गरिएको उक्त प्रालिका सचिव देवेन्द्र नाथले उल्लेख गरे । करीब ७९ स्टल रहेको सो महोत्सवमा स्थानीयवासीले निर्माण तथा उत्पादन गरेका वस्तु निःशुल्करुपमा राख्न पाउने व्यवस्था गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई रु ४० र अरुलाई रु ५० शुल्क तोकिएको छ भने महोत्सव अवधिभर यात्रुका लागि ७५ प्रतिशत भाडा छुट गरिने जनाइएको छ ।

कृषि, पर्यटन, कला र संस्कृति बाजुराको पहिचान, पर्यटकलाई गन्तव्यसम्मको जिम्मा जयमालिका यातायातको अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त महोत्सव कात्तिक २ गते सम्पन्न हुने भएको छ । महोत्सवमा भुवा, चाली, माँगल, हुड्केउली, गाथालगायत झाँकी प्रस्तुत गरिने भएको छन् । रासस



प्रतिक्रिया दिनुहोस्