Logo

अपराधमा सांसदको संलग्नता



काठमाण्डौ । कस्तो बिडम्बना, देश र जनताको हितमा काम गर्न जनताले चुनेको प्रतिनिधि नै अपराधमा संलग्न । हो, नेता त्यसै बनिदैन । लोकप्रिय हुन सक्नुपर्छ । देश र जनताबाहेक अरु स्वार्थमा लाग्नु हुँदैछ । तर केही यस्ता जनप्रतिनिधि छन्, जसलाई अपराध कर्म गरेको आरोप लागेको छ ।

आइतबार प्रतिनिधित सभाका सदस्य मोहम्मद अफताब आलम पक्राउ परे । रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। आलमलाई २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ । हत्या आरोपमा पक्राउ परेका आलमको संसदबापत पाउने सेवासुविधा रोकिएको छ । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो । हत्या आरोपमा प्रतिनिधिसभा सदस्य आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ ।

निवर्तमान सभामुख एवं नेकपा सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन् । महरा र चौधरी निलम्बनमा परिसकेका छन् । एक साताअघि मात्रै निवर्तमान सभामुख एवं प्रमुख सत्तारूढ नेकपाका दाङ २ बाट निर्वाचित सांसद महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परेका छन् । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास आरोपमा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । संघीय संसद् सचिवालयका अनुसार महराको सांसद पद निलम्बनमा परिसकेको छ ।

अपराध कसुरमा कारागारमा रहेका अर्का सांसद तथा राजपा नेता चौधरी कैलाली २ बाट निर्वाचित भएका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १८ महिने बालक टेकबहादुर साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या प्रकरणमा चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरिसकेको छ । त्यही फैसलाका आधारमा उनी हाल सदरखोर डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन् ।

२०७४ को आमनिर्वाचनमा कैलाली ५ बाट निर्वाचित नेकपा सांसद राना २०६४ को संविधानसभा सदस्यका हैसियतमा लिएको कूटनीतिक राहदानी निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा विशेष अदालतबाट २०७२ साउन २६ गते दोषी ठहर भइसकेका छन् । उनीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । कूटनीतिक राहदानी दुरुपयोग अभियोगमै विशेष अदालतबाट दोषी ठहर भएका तत्कालीन सभासदहरू गायत्री साह, बीपी यादव र शिवपुजन राय यादवविरुद्धको मुद्दा सर्वोच्चमै विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस्