Logo

फिफा विश्वकप छनौटमा भोलि नेपालले जोर्डनको सामना गर्दै



कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले भोलि जोर्डनको सामना गर्दैछ । चौथो खेलमा दोस्रो जितको लक्ष्यसहित नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनको सामना गर्न लागेको हो । जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

गत बिहिबार अष्टे«लियासँग हार ब्यहोरेसँगै जोर्डन पुगेको टोली प्रदर्शनमा सुधार गर्न चाहन्छ । सुधारिएको प्रदर्शनसँगै जितको लक्ष्यमा रहेको नेपाली टोली अन्तिम अवे खेललाई सम्झनलायक बनाउने योजनामा छ । जोर्डन पनि फिफा वरीयतामा आफूभन्दा ६३ स्थान तल रहेको नेपालविरुद्ध घरेलु मैदानमा नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ । फिफा वरीयतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ । छनोट अन्तर्गत समूहका २ खेलमध्ये १ मा खेलमा बराबरी र १ मा जित निकालेको जोर्डन ३ अंक बटुल्ने रणनीतिमा रहँदा नेपाल भने अंक खोस्न चाहन्छ । समूह तालिकामा जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ ।

नेपाल ३ अंकसहित चौथो स्थानमा छ । नेपालले जोर्डन भन्दा एक खेल बढी खेलेको छ । विहिवार अष्ट्रेलियासँग ५–० को गोलअन्तरले पराजित नेपालले समूह बी अन्तर्गत चाइनिज ताइपेइसँग मात्र जित निकालेको छ । समूहको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० को फराकिलो गोलअन्तरले पराजित भएको थियो । जोर्डनले चाइनिज ताइपेइलाई २–१ ले हराउँदा कुवेतसँग गोलरहित बराबरी खेलेको थियो । जोर्डनसँगको अन्तिम अवे खेलसँगै नेपालले बाँकी खेल घरेलु मैदानमा खेल्नुपर्नेछ । तर एकमात्र दशरथ रंगशाला स्तरोन्नतिका क्रममा रहेकाले नेपालले होमका खेल पनि विदेशमा गराउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्