Logo

सी फर्किएसँगै काठमाण्डौको सुन्दरता पनि हराउँदै



काठमाण्डौ । चिनिया राष्ट्रपती सि जिन पिङ नेपाल आउने भएपछि काठमाण्डौका केही सडक र सडक छेउछाउ मर्मत गरेर राम्रै बनाइएको थियो । राम्रो बनाउनुको एउटै उद्धेश्य थियो चिनिया राष्ट्रपतिलाई काठमाण्डौ सफा र सुन्दर छ भनेर भ्रममा पार्ने । सी कति भ्रममा परे त्यो फरक पाटो हो, तर जनता भने पटक्कै भ्रममा छ्रैनन् । टालटुले कामबाटै दिक्क भएका जनता बनाइएको संरचना पनि सी फर्किनाथ अस्तव्यस्त पारिएको प्रति रुष्ट छन् ।

देखाउनकै लागि रातारात काम गर्ने र प्रयोग सकिएपछि संरक्षण नगर्ने प्रवृत्ति पुरानै हो । बेलाबेला हुने विभन्न देशका भिआइपीको भ्रमणलाई लक्षित गरी सिमित सडक क्षेत्र मर्मत तथा सिंगारपटार गरिन्छ । तर भिआइपी फर्किएको भोलिपल्टदेखि नै अस्तव्यस्त हुन थाल्छ । न संरक्षण हुन्छ न महत्व नै दिइन्छ । त्यस्तै भएको चिनियाँ राष्ट्रपति सी जिन पिङ फर्किएपछिको अवस्था ।

सी नेपाल आउने भएपछि उनी सवार हुने सडकखण्ड मर्मत गरियो भने छेउछाउमा पार्क नै बनाइयो । स्वागतका लागि गमलामा फूल राख्ने देखि अस्तव्यस्त दृश्य छोप्नेसम्मका काम गरियो । तर सी फर्किएको भोलिपल्टदेखि नै ति दृश्य उडाडमा परिणत भएका छन् ।

चिनिया राष्ट्रती सिको स्वागतको लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी हिँड्ने ‘रुट’ र आसपास पर्ने स्थानमा सडक, पुल निर्माणाधीन क्षेत्रमा प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको थियो । तर एकदिनपछि नै ति दृश्य गायब भइसकेका छन् । यस्तो प्रवृत्तिप्रति नागरिक रुष्ट बनेका छन् । बनाइएको संरचना संरक्षण नहुनुमा सरकार वा सम्बन्धित निकाय नै दोषी भएको सर्वसाधारण बताउँछन् ।

बिदेशी पाहुना आउदा देखाउनको लागी साजसज्जावट गर्ने अरुबेला लाथालिङग बनाउनु निकम्मापन मात्रै होइन, जनताको करको दुरुपयोगसमेत भएको कतिपयको तर्क छ । विभिन्न निकायमध्येको काठमाण्डौ महानगरपालिका पनि एक जिम्मेवार निकाय हो । महानगरका प्रवक्ता इश्वरमान डंगोलले आवश्यक जनशक्ति खटाएर भएका संरचनाको संरक्षण गरिने आश्वासन दिउका छन् ।

सरकारले हरेक समय यसरिनै बिदेशी पाहुँना आउँदा देखाउनकै लागि भए पनि आँखाले भ्याउनेसम्ममा स–सानादेखि ठूल्ठूला रुख रोपेर कृत्रिम बगैंचा बनाउने गर्छ । बिभिन्न प्रकारको साजसज्जावटको लागि करोडौ रुपैया खर्च गर्ने गरेको छ । तर जनताले पाएको दुःखप्रति भने आँखा चिम्लिने गरेको छ । चाह्यो भने रातारात काम सम्पन्न हुनेरैछ भन्ने सन्देश पनि गएको छ । त्यसैले अब रातारात नै त होइन, तर दीर्घकालिन रुपमा टिकाउ हुने गरी विकास निर्माणका काम गर्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्