Logo

क्याबिनेटमा सेट नै परिवर्तनको तयारी, ओली र प्रचण्ड दुई-दुई मन्त्री जोगाउने रणनीतिमा



काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा सेट नै परिवर्तनको तयारीमा पुगेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग आजै मन्त्रिमण्डलमा हेरफेरबारे छलफल गरेका छन् ।

मन्त्रिमण्डलमा मन्त्रीहरुको कामबारे समिक्षा समेत भएपछि को को राख्ने र को को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ । ओलीले सरकारको काम कारबाहीलाई सशक्त बनाउन मन्त्रिहरुको हेरफेर कात्तिको पहिलो हप्तानै गर्ने तयारी गरेका छन् । यसबारे उनले प्रचण्डसँग परामर्श गरेका हुन् ।

मन्त्रिहरुलाई दशैं मान्न दिने नीति अनुरुप ओलीले केही अघि नै मन्त्रिहरुको हेरफेरलाई थाती राखेका थिए । अब उनी तत्काल एक्सनमा जाने गरी तयारीमा जुटेका छन् ।

ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईबाहेकका मन्त्रीको ठाउँमा नयाँ नाम दिन समेत भनेको विश्वस्त स्रोतले जनाएको छ । ओलीले पूर्व एमालेका तर्फबाट मन्त्री भएका अन्यलाई भने हटाउने गरी तयारी गरिसकेका छन् ।

प्रचण्ड बुहारीसमेत रहेकी खानेपानीमन्त्री विना मगरलाई हटाउन नदिने पक्षमा छन् । मगरबाहेक अन्यको हेरफेरमा प्रचण्ड लचिलो देखिएका छन् । तर, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्री कायमै राख्न एउटा पक्ष लबिङमा लागिसकेकाले उनलाई जोगाउन प्रचण्ड सक्रिय हुनसक्ने देखिएको छ । रघुवीर हट्ने परिस्थितिमा महेश बस्नेतलाई भौतिक पूर्वाधारमन्त्री बनाउनुपर्ने पक्षमा प्रचण्ड पनि उभिएका छन् ।

मन्त्रिमण्डलमा अधिकांश मन्त्रीहरु हट्ने सूचनालगत्तै नेकपा सांसदहरुको दौडधुप चलिसकेको छ । नयाँ अनुहारहरु मन्त्री बन्न लबिङमा छन् । File Photo



प्रतिक्रिया दिनुहोस्