Logo

आइसीसीले नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन फुकुवा गर्ने



काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई गरेको निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउने भएको छ । आईसीसीको बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

निलम्बन फुकुवा गर्नका लागि आईसीसीले केही शर्तहरु भने अघि सारेको जनाइएको छ । आईसीसीको बोर्ड बैठकमा क्यान निलम्बनबारे गम्भीर छलफल भएको थियो । तत्कालिन समयमा भएको अधिवेशनबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय खेलकुद परिषद् राखेपले उक्त अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिएर नयाँ तदर्थ समिति गठन गरेको थियो ।

त्यसपछि क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । निलम्बन फुकुवा गर्नका लागि आईसीसीले आफ्नो रोडम्याप नेपाललाई दिएको थियो । आईसीसीले दिएको रोडम्याप अनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश कार्यसमितिका साथै केन्द्रीय कार्यसमितिको निर्वाचन भएको थियो । असोज ११ गते भएको निर्वाचनबाट पनि चन्दनै अध्यक्ष भएर आएका छन् ।।

आईसीसीले जिम्बाब्वेको पनि निलम्बन हटाएको छ । अब उसले यू–१९ विश्वकप र २०२० पछि सुरु हुने आईसीसी सुपर लिगमा पनि भाग लिन पाउनेछ । निलम्बनका कारण उसले टी–२० विश्वकपको छनोट खेल्ने अवसर भने गुमाएको छ ।

आईसीसी बोर्ड बैठकले महिला क्रिकेटको उपाधि बढाएको छ । अब अर्को वर्ष अष्ट्रेलियामा हुने प्रतियोगिताको विजेताले एक मिलियन र उपविजेताले ५ लाख डलर पाउनेछन् । यो २०१८ को विजेताले पाएकोभन्दा पाँच गुणा बढी हो । साथै २०१८ को तुलनामा २०२० को पुरस्कार रकम समग्रमा ३२० प्रतिशत बढेको आईसीसीले जनाएको छ ।

बैठकले यू–१९ महिला विश्वकप आयोजना गर्ने निर्णय गरेको छ, जुन २०२१ मा बंगलादेशमा हुनेछ । यस्तै २०२३ बाट सुरु हुने ८ वर्षको चक्र (साइकल) का क्रमा आठ पुरुष, आठ महिला, चार पुरुष यू–१९ र चार महिला यू–१९ इभेन्ट रहने पनि तय गरेको छ ।

आईसीसी बोर्ड बैठकले एसिसिएट सदस्यहरुका लागि २०२० मा ३०।५ मिलियन फण्ड छुट्याएको छ । यो २०१९ को भन्दा करिव १२ प्रतिशत बढी हो ।



प्रतिक्रिया दिनुहोस्