Logo

जनकपुर विमानस्थलमा सांसदको अपाच्य हर्कत, तोडफोडमा उत्रिए



जनकपुर, २७ असोज । जनकपुर विमानस्थलमा सोमबार अनौंठो घट्ना घट्यो । सांसद नै विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरको तोडफोडमा उत्रिए । विमान निर्धारित समयभन्दा ढिला आएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साह बुद्ध एयरको काउन्टर तोडफोडमा उत्रिए । जहाज पर्खाईमा रहेका यात्रुहरु भने सांसद साहको हर्कत देखेर एकछिन अवाक बनेका थिए ।

सांसदजस्तो व्यक्तिको हर्कत सुपाच्य नभएको उनीहरुको गुनासो थियो । साहले उडान ढिला भएको भन्दै अन्धाधुन्द प्रहार गरी तोडफोड गरेको बुद्ध एयर जनकपुरका कर्मचारीको आरोप छ । जनकपुरबाट काठमाडौं जान लागेका सांसद साहले विमानस्थलका कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै बुद्ध एअरको काउन्टर र भीआइपीकक्षमा तोडफोड गरेको जनकपुर विमानस्थलले जनाएको छ ।

यता, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सर्लाही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वा्चित सांसद साहले विमानस्थलका कर्मचारीलाई अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको जनाएको छ । सांसद साहले बुद्ध एअरका जनकपुर इन्चार्जमाथि हातपातको प्रयाससमेत गरेको जनाइएको छ ।

तोडफोडको घटनापछि बुद्ध एअरले सांसद साहलाई विमानमा चढाउन अस्वीकार गरेकामा धनुषाका प्रमुख जिल्ला अधिकारीको दबाबमा उनलाई विमानमा प्रवेश दिइएको बुझिएको छ । साहलाई एक साताभित्र कारबाही नगरिए जनकपुरमा विमान उडान सेवा नै बन्द गर्ने निजी वायु सेवा कम्पनीहरुको चेतावनी छ । उता, प्रदेश नम्बर दुईका प्रहरी प्रमुख डिआईजी प्रद्युम्न कार्कीले लिखित उजुरी दिन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्