Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे ईश्वर पोखरेलको यस्तो टिप्पणी



काठमाडौं, २७ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन । ‘सिल्क रोड युथ फोरम’ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताए ।

भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ऐतिहासिकरुपमा सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपाल र चीन दुवै देश पुराना मित्र हुन् । हाम्रो मित्रतामा कहिल्यै आँच आएन, बरु सहयोगी सम्बन्ध रहिरह्यो । दुवै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ ।” त्यस्तै, उनले नेपालले चीनको विकास र समृद्धिबाट सिक्न चाहेको पनि बताए ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसङ्ख्या भएको मुलुकमध्ये एक रहेको उल्लेख गर्दै दुवै देशका युवाबीच रोजगारी सिर्जना र व्यावसायिक योजनामार्फत दुवै देशले लाभ लिनसक्ने धारणा व्यक्त गरे । साथै, उनले राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिमूलक र ऐतिहासिकरुपमा सफल भएको बताए ।

फोरमका उपाध्यक्ष तथा महासचिव यङ दोङपिङले नेपाल र चीनबीचको सम्बन्ध माथि प्रकाश पार्दै दुवै देशको आर्थिक विकास र समृद्धिका लागि द्विपक्षीय सहकार्यमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचार तथा प्रकाशन केन्द्रीय विभागका उपप्रमुख सूर्यबहादुर थापाले ‘नेपाल–चीन सम्बन्ध, नयाँ युगमा बहुआयामिक साझेदारी’ सम्बन्धी प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपाल र चीनका युवा विज्ञले विभिन्न विषयका १० प्रस्तुति दिएका थिए । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्