Logo

दशैंको ऋण तिर्न बालुवामा सुन खोज्दै बोटे



दमौली,२८ असोज । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा बसोवास गर्ने बोटे जाति दशैं मनाउँदा लागेको ऋण तिर्नका लागि बालुवामा सुन खोज्न नदीतर्फ लागेका छन् । कोजाग्रत पूर्णिमा सकिएसँगै उनीहरु बालुवा चाल्न नदी किनारमा लागेका हुन् । बालुवामा सुन खोजेर त्यही सुन संकलन गरी बिक्री गरी आएको पैसाले दशैं लगाएत अन्य चाडपर्वको ऋण तिर्ने बोटे जातिको पेशा नै बनेको छ ।
कालीगण्डकी, बूढीगण्डकी, मस्र्यादी र त्रिशुली नदीको बालुवामा सुनका कणहरु भेटिने हुँदा उनीहरु सुन खोज्नका लागि नदी किनारमा गएको बताउँछन् । यो समयमा नदीमा पानीको बहाव कम हुने हुँदा सुन खोज्न सहज हुने उनीहरुको भनाइ रहेको छ । २६ घर भएका बोटे गाउँका आधाभन्दा बढी घरमा मानिस घरमा ताल्चा लगाएर बालबालिका सहित हरेक बर्ष यही समय पारी नदी किनारको बालुवामा सुन खोज्न जाने गर्दछन् ।

यसरी नदीको बालुवामा सुन खोज्ने बोटे जातिको परम्परा अनि रहर केही नभएर बाध्यता हो । उनीहरुको घर चलाउने अन्य कुनै उपाय नभएपछि यसलाई नै मुख्य पेशाको रुपमा मान्नु परेको उनीहरुको भनाइ रहेको छ । घर चलाउनको लागि पहिले माछा मारेर जीविकोपार्नन गर्ने गरेको भएता पनि हाल नदीमा माछा नपाइने हुँदा र आयआर्जनको अन्य उपाय नभएको साथै प्रश्स्त मात्रामा जग्जा जमिन नभएपछि कृषि, पशुपालन समेत गर्न विकल्प नभएका कारण यो पेशाा अपनाएको बोटेहरु बताउँछन् । हाल बालुवामा सुन खोज्नु नै मुख्य पेशा रहिआएको उनीहरु बताउँछन् ।

बालुवामा सुन खोज्दा एक घरले कुनै वर्ष २० देखि २५ हजार बराबरको त कुनै वर्ष चार पाँच हजारको सुन भेटिने र त्यसैलाई बजारमा लगेर बिक्री गरेर घर खर्च चलाउने गर्दछन् । नदी किनारमा बसोबास गर्दा बालबालिका विरामी पर्दा र महिला सुत्केरी भए जुनसुकै बेला घर फर्कने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्