Logo

डा. महतोद्धारा एनआरएनए नवौं विश्व सम्मेलन बहिष्कार



काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको आज उद्धघाट्न गरेकी छिन् । तर, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले सम्मेलन बहिष्कार गरेका छन् ।

संस्थापक अध्यक्ष डा. महतोले सम्मेलन बहिष्कार गर्नुको मुख्य कारण भनेको संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढ्नु नै रहेको बुझिएको छ । नवौं महाधिवेशनमा संघको अध्यक्षका उम्मेद्धवारले संघको स्थापनाको पवित्र उद्देश्यविपरित राजनीतिक ध्रुवीकरण बढाएकोमा महतो रुष्ट बनेका हुन् ।

विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भाृत संगठनजस्तो बनाउन नहुने महतोको सुरुदेखिको तर्क छ । उनले संघका विभिन्न महत्वपूर्ण कार्यक्रममा भन्दै आएका छन्,‘एनआरएनए मातृभूमिको सेवाको लागि पवित्र उद्देश्य राखेर खोलिएको संस्था हो । यसमा कसैले पनि राजनीतिक गन्ध छिराउनुहुँदैन् । यो ८० लाख नेपालीहरुको साझा संस्था हो ।’

महतोले विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने अडान राख्दै आएका छन् । संघको स्थापना भएको १६ वर्षको अवधिमा बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको गर्विलो ईतिहासमा दाग लगाउनेगरि नेतृत्वको लागि राजनीतिक धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ । संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ ।

महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिवेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेका थिए । महतोले भनेका थिए,‘एनआरएनए अध्यक्ष चुनावको धेरै सपोर्ट गर्ने मान्छे म होइन । सबैको एउटै भावना छ भने चुनाव किन लड्ने ?’

यद्धपी महतोले आफू चुनावको विरोधी नभएको पनि स्पष्ट पारेका छन् । उनले भन्ने गरेका छन्,‘म चुनावको विरोधी होईन, सकेसम्म चुनाव गर्नुहुँदैन् । यदि चुनावमै जानुपरे त्यो चुनावमा राजनीतिक खासगरी विशेष दलगत राजनीतिक हाबी गराउनुहुँदैन् ।’

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् ।

मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ । आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो ।



प्रतिक्रिया दिनुहोस्