Logo

सांसद प्रमोद शाह पक्राउपछि राजपामा खैलाबैला; महतोले दिए कडा कदम चाल्ने चेतावनी



काठमाडौं, २८ असोज । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाह पक्राउ परेपछि राजपाभित्र खैलाबैला मच्चिएको छ । आफ्ना सांसद पक्राउ परेपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कडा जवाफ दिने चेतावनी दिएका छन् ।

‘अन्यायको विरोधमा बोल्ने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने ?’ महतोले रिपोर्टर्स नेपालसँग भने, ‘यो सरकार निरंकुश बन्दैछ ।’ राजपाले सांसद शाहलाई तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ । महतोले शाहको रिहाई नभए विरोधका कार्यक्रम गरिने बताए । विपक्षीप्रति वर्तमान सरकार नकारात्मक बन्दै गएकोले सचेत हुनुपर्ने बेला आएको महतोले बताए ।

यसअघि मंगलबार सांसद शाहलाई त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । पक्राउ पूर्जी बनेकाले उनलाई घटना घटेको जिल्लामा पाइने भएको छ ।

शाहले साँढे ११ बजे उड्नुपर्ने विमान दुई घन्टा ढिलो हुँदा भीआइपी कक्षमा सुविधा नदिएको भन्दै बुद्ध एयरको विमानस्थलस्थित कार्यालयमा तोडफोड गरेका थिए । उनले कम्युटर समेत फुटाएका थिए ।

शाह पक्राउ परेको अपराध महाशाखाका एसएपी सहकुल थापाले जानकारी दिए । उनलाई हिरासतमा राख्न जनकपुरमा प्रहरीको टोली तयारी अवस्थामा बसिसकेको बुझिएको छ । धनुषा प्रहरीका अनुसार उनीमाथि तोडफोड र अभद्र व्यवहार गरेको आधारमा कारबाही हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्