Logo

नयाँ सभामुखको पखाईमा सभामुख निवास



काठमाडौं, २८ असोज । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले संघीय संसदको सभामुखबाट राजीनामा दिए । महरा यतिवेला प्रहरी हिरासतमा छन् । महराको राजीनामासँगै प्रतिनिधिसभा यतिवेला सभामुखविहीन छ । नयाँ सभामुख को बन्छ? भनेर अहिले बहस चलिरहेको छ । सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नै दाबी गर्ने भएको छ । यसको लागि नेकपाले वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई जतिसक्दो चाँडो राजीनामा गराउने तयारी गरिसकेको छ ।

स्रोतका अनुसार उपसभामुख तुम्बाहाम्फेको राजीनामाबारे हिजो (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा छलफल भएको थियो । नेकपाबाट सभामुखमा पूर्व सभामुख तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छ । तर, नेम्वाङले स्वयम भने आफू सभामुखमा ईच्छुक नरहेको स्पष्टकीकरण दिईसकेका छन् । यो सँगै नेकपाका अध्यक्षद्धय सभामुख कसलाई बनाउने भन्नेबारे छलफलमा केन्द्रित भएका छन् ।  नेकपाबाट सभामुख बन्ने दौडमा रहेका नेताहरुमा ओनसरी घर्तीमगर, देव प्रसाद गुरुङ, टोपबहादुर रायमाझी र अग्नि सापकोटाको नाम छ । यसअघि पनि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि सभामुख पद माओवादी केन्द्रको भागमा परेको थियो । अहिलेपनि सभामुखमा पूर्व माओवादी नेताहरुलाई नै बनाउनुपर्ने लविङ सुरु भएको छ । प्रचण्डपनि यही अडानमा छन् ।

महरामाथि गम्भिर आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । तर, प्रहरीले उनलाई राजीनामा दिएको झण्डै एक सातापछि मात्रै सभामुखकै सरकारी निवासबाट पक्राउ गरेको थियो । राजीनामा पछि पनि महराले काठमाडौंमा भनेजस्तो डेरा नपाएकोले आफू सर्न नपाएको बताएका थिए । पक्राउ पर्ने दिन महरा सभामुखकै निवासमा थिए ।

उनी आफन्तसँग दशैं मान्ने मुडमा थिए । तर, प्रहरीले असोज १९ गते साँझ महरालाई नियन्त्रणमा लिएको थियो । सभामुख पद वरियताको हिसवाले पनि पाँचौं नम्बरमा पर्छ र यो शक्तिशाली पद हो । सभामुख निवासमा त्यसैले पनि चहलपहल हुनै गर्छ । यसलाई स्वभाविक रुपमा लिईन्छ । तर, अहिले भने सभामुखको सरकारी निवास सुनसान छ । कुनै चहलपहल छैन् । सभामुखको सरकारी निवासमा यतिवेला नेपाली सेनाले सुरक्षा दिईरहेको छ । नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच सहमति बने अबको एक साताभित्र नयाँ सभामुखको टुँगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्