Logo

पुराना हटाएर नयाँ मन्त्री ल्याउने तयारी अन्तिम चरणमा; को आउने को जाने



काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने भएका छन् । उनले क्याबिनेटमा केही मन्त्रीहरुलाई राखेर सेट नै परिवर्तनको तयारी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमण सम्पन्न गरी फर्केको भोलिपल्टै सोमबार ओलीले नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमा बोलाएर मन्त्रिमण्डलमा सेट परिवर्तनबारे छलफल गरेका थिए । नयाँ मन्त्रीहरुको सूची तयार गर्ने गरी छुट्टिएका दुवै नेताहरु बुधबार पुनः बैठक बस्ने भएका छन् ।

अबको मन्त्रिमण्डलमा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बास्कोटा र भर्खरै मन्त्री भएका पर्यटनमन्त्री योगेश भट्टराई बाहेकलाई हटाउन चाहेका छन् । प्रचण्डले पनि बुहारी विना मगरलाई मन्त्री कायमै राख्न खोेजेका छन् ।

अबको मन्त्रिमण्डलमा परिवर्तन भएमा महेश बस्नेत आउने पक्का छ । उनी विगतमा पनि मन्त्री भएर चर्चामा आएका थिए । बस्नेत ओलीका प्रीय हुन् । उपसभामुखबाट राजीनामा दिलाएर डा. शिवमाया तुम्बाहाम्फेलाई पनि मन्त्री बनाउने तयारी भएको छ ।

ओली निकटस्थ विष्णु पौडेल अर्थमन्त्री बन्ने सम्भावना बलियो भएको छ । डा. युवराज खतिवडाको स्थानमा पौडेल आउन सक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । तनहुँबाट चुनाव जितेका किसान श्रेष्ठ पनि मन्त्री बन्ने सम्भावना बलियो भएको छ । उनलाई वामदेव गौतमको दरिलो समर्थन छ ।

पूर्व एमालेबाट ओलीको नजिक रहेका नयाँ अनुहार पनि आउने भएका छन् । ओलीले महिला र दलितबाट पनि प्रतिनिधित्व गराउन चाहेको बुझिएको छ ।

पूर्व माओवादीबाट टोपबहादुर रायमाझी, जर्नादन शर्मा, अग्नि सापकोटा, प्रभु शाहको सम्भावना बलियो छ । पम्फा भुषाललाई यसपटक मन्त्री बनाउने तयारी भएको छ । भुषाल हक्की भएकाले उनलाई मन्त्री बनाउँदा आफ्नो पक्षको प्रभाव बलियो हुनसक्ने आधारमा पूर्व माओवादीभित्र छलफल चलिसकेको छ । केही नयाँ अनुहार पनि मन्त्रीका सम्भावित छन् । File Photo



प्रतिक्रिया दिनुहोस्