Logo

राष्ट्रपति आजदेखि म्यानमारको राजकीय भ्रमण गर्दै



काठमाडौं २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबारदेखि म्यानमारको चारदिने राजकीय भ्रमण गर्दै छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । घुमघामपछि भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल र म्यानमारबीच सन् १९६० देखि कूटनीतिक सम्बन्धको सुरुआत भएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलका अनुसार राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण दुई मुलुकबीच इतिहासदेखि चल्दै आएको सम्बन्धलाई थप बलियो बनाउनका लागि हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्